कञ्चनपुर – घरबाट बेपत्ता भएको एक हप्तापछि २० वर्षकी एक युवतीको शव फेला परेको छ। कञ्चनपुरको कालिका गाविस-९ की २० वर्षीया समुद्रा रानाको रहस्यमय मृत्यु भएको हो।
युवती बेपत्ता भएपछि परिवारका सदस्यहरु खोजतलासमा लागेका थिए। मृत अवस्थामा फेला परेकी युवतीको हत्या वा मृत्यु के भएको हो भन्नेबारे कारण खुल्न नसकेको प्रहरीको भनाइ रहेको छ।
दानबहादुर चौधरीको खेतमा शव फेला परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले अनुसन्धानका लागि भन्दै चौधरीलाई हिरासतमा लिएको छ।
परिवारका सदस्यले हालसम्म सत्यतथ्य पत्ता नलागेको भन्दै महिला मानवअधिकार रक्षक सञ्जालमा निवेदन दिएको सञ्जालकी अध्यक्ष भारती सिंहले बताउनुभयो। घटनाको वास्तविकता पत्ता लगाई दोषीमाथि कारबाहीको मागसमेत पीडितका आफन्तजनले गरेका छन्।
मृतक महिला राति अपरिचित व्यक्तिको मोटरसाइकल चढेर जाँदै गरेको देखेको गाउँलेहरुले बताएका छन्। रासस



