– मनोज अधिकारी
पोखरा – पोखराको फेवातालमा पौडी खेल्न गएका दुई किशोरको आईतबार अपरान्ह डुबेर मृत्यु भएको छ। सल्यानको धनमान गाविस-७ का अन्दाजी १६ वर्षिय रुद्र ओली र गरुवा गाविस-३ का १७ वर्षिय चुडाबहादुर डाँगीको फेवातालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु फिस्टेल लज नजिकै डुबेका हुन्।
जिल्ला प्रहरीका प्रमुख एसपी यादवराज खनालकाअनुसार उनीहरु दुवै सल्यानबाट ज्यामी काम गर्न शनिबार मात्र पोखरा आइपुगेका थिए। पोखरामा सजिलै ज्यामी काम पाइन्छ भन्दै उनीहरुलाई ठेकेदारले पोखरा ल्याएको थियो।
पौडी खेल्ने क्रममा डुवेका उनीहरुलाई नजिकै फुटबल खेलिरहेका स्थानीय युवकहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका केहीबेरमै पुगेको प्रहरीले दुवैलाई मृत अवस्थामा तालबाट निकालेको थियो। दुवै शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको छ।