कपिलवस्तु – गैर कानुनी हुकिङ्ग गरी विद्युत चोरी गर्ने ९ जनालाई विद्युत प्राधिकरण कृष्णनगर शाखाले पक्राउ गरेको छ ।उनीहरुसंगै ३ थान टेलिभिजन, एक-एक थान सीडी र डिभिडी प्लेयर तथा एक थान फोक्स लाईट र तारहरु सहित बुधबार राति पक्राउ परेका थिए ।
पक्राउ परेका ९ मध्ये ४ जना भलबारी गाविसका गुजी धोबी, महराजगंज गाविसका ओमप्रकाश चौधरी र रामचरित्र चौधरी तथा बहादुरगंज गाविसका मंलगप्रसाद कश्यपलाई जनही ५ हजार जरिवाना गरी छाडिएको छ । त्यस्तै विद्युतीय सामग्री सहित पक्राउ परेका बहादुरगंज गाविसका गौरीशंकर कहार र शिवमंगल, चनई गाविसका अल्ताफ मुसलमान, भलवारी गाविसका सुकई मोर्य र महराजगंज गाविसका मोहम्म युनुश धोवीलाई जनही १० हजार जरिवाना गरिएको छ । उनीहरुले १० हजार जरिवाना बुझाउन नसक्दा ईलाका प्रहरी कार्यालय कृष्णनगरमा थुनामा रहेका छन् ।
करिब दुई महिना देखि थालेको चोरी नियन्त्रण अभियान अन्तर्गत अहिले सम्म ४४ जनालाई पक्राउ गरी ६ लाख बढी जरिवाना असुल गरेको छ । प्राधिकरणका सहायक ईन्जिनियर तबारकुल्लाह खाको संयाजकत्बमा गठित विद्युत चोरी नियन्त्रण टोली आकस्मिक रुपमा गाउ पुगेर चोरी नियन्त्रण गर्ने गर्दछ ।
यसका लागि सशस्त्र र नेपाल प्रहरीको टोली ब्याक सपोर्ट गर्दै गाउ गाउ पुग्ने गरेको शाखा प्रमुख राजेन्द्र चौधरीले बताए । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले उर्जा संकटकाल घोषणा गरे पछि प्राधिकरणले गैर कानुनी हुकिङ्ग गर्ने विरुद्ध करिब दुई अघि देखि अभियान चलाएको हो ।



