कुवेतबाट २ हजार ७ सय नेपालीलाई घर फिर्ने अनुमति

-यूएई डेस्क – कुवेत सरकारले आप्रवासी गैरकानुनी कामदारलाई दिएको आममाफीबाट २ हजार ७ सय नेपालीले घर फिर्ने अनुमति पाएका छन् । अनुमति पाएभन्दा अन्यत्रै गैरकानुनी रूपमा कार्यरत त्यस्ता कामदारले बिनासजाय घर र्फकने अवसर पाएका हुन् । तीन महिनाको म्याद दिँदै मार्च १ देखि लागू हुने गरी कुवेतले आममाफी घोषणा गरेको थियो । ‘यहाँको कानुनविपरीत बस्दै आएकामध्ये दूतावासबाट राहदानी नभएका २७ सय नेपाली कामदारलाई घर फिर्न ट्राभल डकुमेन्ट जारी भएको छ,’ कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले भने, ‘अब उनीहरू स्वदेश फिर्न पाउनेछन् ।’
आममाफीको समय एक महिना बाँकी भएकाले दूतावासमा ट्राभल डकुमेन्ट बनाउने यस्ता कामदारको थप भीड लागेको छ । ‘गैरकानुनी कामदारले आममाफी पाएर स्वदेश गएमा पुनः कुवेत आउन पाउने छन्,’ पौडेले भने, ‘हामी यो अवसर सदुपयोग गर्न कामदारहरूलाई अनुरोध गरिरहेका छौं ।’
कम्पनी भनेर ल्याएर भेडीगोठतिर पुर्‍याइएका कामदारहरू बढी भागेका छन् । यसबाहेक भाग्नेमा महिला कामदार पनि छन् । ‘आममाफी नहुँदा कुबेतको कानुन अनुसार सजाय र जरिवाना तिरेपछि मात्रै स्वदेश जान पाउने थिएँ,’ उनले भने, ‘आममाफीले गर्दा फौजदारी अभियोग लागेका बाहेक सबै फिर्न पाउने छन् ।’
कुवेतमा भाग्ने र भगाउनेको समस्या भयावह छ । बढ्दो गैरकानुनी कामदारलाई कानुनी दायराभित्र ल्याउन कुवेतका अमिरले तीन वर्षपछि यो सुविधा दिएका ह्न् । 
राजदूत पौडेलले सरकारसँग अभिलेख नभएकाले गैरकानुनी नेपाली कामदारको संख्या यकिन नभएको बताए । त्यहाँ कार्यरत नेपाली झन्डै ५० हजार नाघिसकेको दूतावासको अनुमान छ । ‘हाम्रो चाहना सबै गैरकानुनी कामदारले यो अवसर सदुयोग गरून् भन्ने छ,’ उनले भने, ‘किनभने यो अवसर नलिने कामदार पछि भेटिएमा कडा सजाय भोग्नुपर्ने, सजाय समाप्तिपछि डिपोर्ट गर्ने र पुनः कुवेत आउन नदिने नियम बनाएको छ ।’ 
हालै कुवेतको परराष्ट्र मन्त्रालय र सुरक्षा एवं अध्यागमन अधिकारीहरूले दूतावासलाई बोलाई ‘आममाफीको घोषणाअनुरूप नगर्ने गैरकानुनी कामदारलाई कडाभन्दा कडा सजाय गर्ने’ जानकारी दिएको थियो । 
आममाफी दिएपछि दूतावासले स्थापना गरेको सेल्टरमा उद्धारका लागि आउने महिला कामदार बढिरहेका छन् । ‘दूतावासको सेल्टरमा ३ सय जना महिला कामदार पुगेका छन्,’ उनले भने, ‘उनीहरूलाई स्वदेश पठाउन दूतावासलाई भ्याई नभ्याई छ ।’ 
समस्यामा परेका महिला कामदारलाई स्वदेश पठाउनुअघि लामो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । दूतावासले एक बिमा कम्पनीसँग सहकार्य गरी सेल्टरमा आउने महिला कामदारलाई बस्न र खानाको प्रबन्ध गर्दै आइरहेको छ ।