– जेपी सापकोटा र गीतामणी पाण्डे
मध्यपुर्व डेस्क – नेपालका वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई नेपालका वैदेशिक रोजगार संस्थाले कतिसम्म ठग्छन भन्ने नमूना काठमाडौंको डिपी डायनेमिक पोजिसन प्रा.लि.ले देखाएको छ । उसले आफ्नों कम्पनीको मात्र होइन, युएईमा रहेको रोजगारदाता कम्पनीको समेत लेटरप्याड चोरी गरी किर्ते संझौता गरेर कामदार पठाएको छ ।
मासिक १ हजार दिराम तलब हुने गरी युएईस्थित एमबीएम -मोडेल विल्डिङ मेन्टिनेन्स कम्पनी) को लेटरप्याडमा गरिएको संझौता लिएर दुबई आइपुगेका २० जना नेपाली युवाहरुले यहा आइपुगेपछि मात्र किर्ते संझौता भएको थाहा पाए । पीडित युवाहरुले सो प्रालि र यहास्थित कम्पनीसाग ५ सय दिराम मूल तलबमा कामदार ल्याउने संझौता गरेको सक्कली संझौता पत्र देखाएपछि मात्र आफूहरु ठगिएको थाहा पाएका थिए।’हाम्रो समूहमा ७० हजारदेखि १ लाख सम्म्ा तिरेर आएका छौं । अब कसरी सो रकम अशुल होला ?’पीडित राजु लामाले गुनासो पोखे।’साहुको रिण तिर्न त कता हो कता घरको झिटिमिटी समेत स्वाहा भयो ।’ जुन १७ मा एयर अरेबियाबाट घर फर्किनु अघि निराश युवाहरु निन्याउरो अनुहार लिएर घर र्फकने बेलामा गुनासो गर्दै थिए।
‘यो कम्पनीको संझौतामै क्लिनरकोलागि ५ सय दिराम मात्र हुन्छ । कसरी १ हजार बेसिक सेलरी तोकेर पठाइयो?’ उनीहरुलाई फिर्ता गर्न सहयोगमा जुटेका नेपाली समाज, युएईका पार्षद अध्यक्ष तुल्सी तामाङले आश्चर्य प्रकट गरे।’नेपालमा त किर्ते कागत बनाए- बनाए, यहाको कम्पनीकै लेटरप्याड समेत चोरी गरेबाट नेपाली मेनपावरकै अझ ठूलो वेइज्जति भएको छ।’उनले भने ।
विदेश गएर पारिवरिक समस्या धान्ने सुनौलो सपना बोकेर आएका प्राय २० देखि ३० बर्षे यी नेपाली युवाहरु जसोतसो २५ दिनसम्म सास धानेर यही जुन १७ मा घर फर्केका छन् । कम्पनीको सक्कली कागजात वेगर नै श्रम स्वीकृति प्राप्त भएको हो कम तलबमै संझौता भएपनि रोजगारीमा जानेहरुबाट बढी रकम असुल गर्ने ध्येयले किर्ते संझौता बनाइएको हो सो भन्ने प्रष्ट भएको छैन । कारण जेसुकै भएपनि संबन्धित निकायले सो रकम अशुली गरी कारवाही गरेर यस्तो कार्यको निरुत्साहित गर्नुपर्ने देखिन्छ । यस्तो कार्यमा स्वयं वैदेशिक रोजगार व्यवसायी संघ समेत आफ्नों छविलाई उच्चो राख्न अग्रसर हुन आवश्यक छ ।
यसरी पीडामा पिल्सिएर घर र्फकनेहरुमा राजु तामाङ, जित बहादुर राना, सुनिल खड्का, अमृत थापा, राजनकुमार ठकुरी, मन मान लोप्चन, सानबहादुर बम्जन, सोनाम सिंह सोताड., सोमलाल श्रेष्ठ, केशव राई, लक्ष्मण अर्याल, बलबहादुर तामाङ, श्रीमान राई, सरोज राई, भास्कर राई, सुदिप सुनुवार, लोकबहादुर धिमाल, रमेश कुमार राई तारानाथ धिताल छन् ।