यस वर्ष एसएलसीमा पूर्वाञ्चलका ४१ विद्यालय विद्यार्थी उत्तीर्ण गराउन असफल

– सिद्धराज राई

धनकुटा  – यस वर्ष एसएलसीमा पूर्वाञ्चलका ४१ विद्यालय विद्यार्थी उत्तीर्ण गराउन असफल भएका छन्। परीक्षामा विद्यार्थी उत्तीर्ण गराउन नसक्ने सबै विद्यालय सामुदायिक विद्यालय हुन्। पूर्वाञ्चलमा १ हजार ६ सय ३६ सरकारी विद्यालय छन।

इलामका ४, झापाका २ र मोरङका ८, सुनसरीका २, धनकुटाका २ र भोजपुरका ६ सामुदायिक विद्यालयले विद्यार्थी उत्तीर्ण गराउन नसकेको सम्बन्धित जिल्ला शिक्षा कार्यालयले जनाएका छन्।

त्यसैगरी सप्तरीका ४, खोटाङका ५, सिराहाका ५ र सोलुखुम्बुका १ वटा सामुदायिक विद्यालयको एसएलसी परीक्षाफल निल रहेको छ। यीमध्ये धेरैजसो ग्रामीण भेगमा खुलेका प्रस्तावित माध्यमिक र खुला विद्यालय छन्।

एसएलसीमा निल नगए पनि बाँकी जिल्लाका १० प्रतिशत विद्यालयको एसएलसीको नतिजा ५ प्रतिशतको हाराहारीमो छ। इलामकोे पुरानो विद्यालय करफोक विद्या मन्दिरबाट ८२ जनाले एसएलसी दिएका पनि १ जना मात्रै उत्तीर्ण भएका छन्।

यस्तै, सुनसरीका १५ विद्यालयको एसएलसीको नतिजा ५ प्रतिशतभन्दा कम छ भने ३३ विद्यालयको १५ प्रतिशतको हाराहारीमा छ। सुनसरीमा निजी विद्यालयको परीक्षाफलसमेत ८० प्रतिशतको हाराहारीको रहेको सुनसरीका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्तीले बताए।
उदयपुरका सबै विद्यालयले एसएलसीमा विद्यार्थी उत्तीर्ण गराए पनि शारदा माध्यमिक विद्यालय चौदण्डीका ४.७ प्रतिशत र संखुवासभाको सिहदेवी मावि जलजलाका ४ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण छन्।

ती विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएको, विषयगत शिक्षक पर्याप्त नभएको र निजी स्रोतमा राखिएको शिक्षकसमेत दक्ष नभएको र यस वर्षको परीक्षा प्रणालीमा सुधार गरेका कारण परीक्षामा विद्यार्थी पास गराउन नसकेको पूर्वाञ्चल क्षत्रीय शिक्षा निर्देशनालयका शाखा अधिकृत रामबहादुर थापाले बताए।

यस वर्ष एसएलसीमा चिट चोराउन सहयोग गर्ने केन्द्राध्यक्ष, परीक्षा गार्डलाई ६ महिनासम्मको कैद र १ लाखसम्म जरिवाना गर्ने भन्ने नियम राखिएकाले पनि परीक्षा प्रणालीमा सुधार आएको शाखा अधिकृत थापाको भनाइ छ।

यसका साथै आइए पास गरेको शिक्षकले माध्यमिक तह पढाउनुपर्ने, शिक्षण सिकाइ शिक्षकले पर्याप्त अभ्यास नगराएको, लोडसेडिङका कारण विद्यार्थी पढ्न नपाएर परीक्षाको तयारी गर्न नसकेको र ग्रामीण क्षेत्रमा भौगोलिक विकटता र गरिबी कारण पढ्न नपाएकाले परीक्षाफल निराशाजनक भएको इलामका जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलले बताए।

पूर्वाञ्चलका धेरैजसो विद्यार्थी अंग्रेजी, गणित र विज्ञान विषयमा फेल छन्। यी विषय धेरै प्रयोगात्मक भएकाले विद्यार्थीको मेहनत नहुनु र गाउँका विद्यालयमा पर्याप्त शैक्षिक सामग्री नभएकाले धेरै विद्यार्थी फेल भएको ओखलढुंगाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताए।

पहाडी क्षेत्रमा अंग्रजी, गणित र विज्ञान पढाउने दक्ष शिक्षक नपाउने, शिक्षकको लागि विज्ञापन गर्दा कोही पनि नआउने र कामचलाउ शिक्षक खोजेर ल्याउनुपर्ने अवस्था भएकाले धेरै विद्यार्थी फेल भएको जिल्ला शिक्षा अधिकारी बरालको दाबी छ।

सुनसरीका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद बस्तीले भने शिक्षाको जग प्राथमिक तह नै कमजोर भएकाले एसएलसीको रिजल्ट नराम्रो भएको बताए। यसका लागि राजनीतिक दल, शिक्षक र अभिभावकले सामूहिक रुपमा प्राथमिक तहकै पढाइमा सुधार गर्न लागे एसएलसीको रिजल्ट राम्रो हुने बस्तीको उनको भनाइ छ।

यस वर्षको पूर्वाञ्चलबाट नियमित र एक्जाम्टेड गरी ४४ हजार ३ सय ९२ परीक्षार्थी उत्तीर्ण भएका छन्।

अन्य समाचारहरु