नवलपरासीमा की १७ वर्षीया युवतीको हत्यामा संलग्न छ जनालाई प्रहरीले सार्वजनिक

परासी । नवलपरासीको माकर गाउँ विकास समिति वडा नं ४ की १७ वर्षीया युवती शुभेच्छा चापागार्इंको हत्यामा संलग्न छ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्फत हत्यामा संलग्न छ जनालाई सार्वजनिक गरिएको हो ।

गत जेठ ३१ गते भएको सो घटनामा संलग्न सबै माकर गाउँ विकास समितिका १८ देखि २० वर्ष सम्मका युवा रहेका अनुसन्धानका क्रममा खुल्न आएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताउनुभयो ।

हत्याका मुख्य नाइके सोही ठाउँका आइटम भनिने अशोक गुरुङ, ग्रेड भनिने राजु विक, निजका भाइ देशी भनिने अर्मन सुनार, गोरे भनिने राजकुमार मगर, भान्जे भनिने सुभाष दर्जी र विष्णु सुनार रहेका उपरीक्षक शाहले जानकारी दिनुभयो । उनीहरुले सामूहिक बलत्कारपछि युवतीको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको जनाइएको छ । राति १ बजेको समयमा झ्यालको भ्यान्टीलेसन फोडी अशोक र राजु उनको कोठाभित्र पसी छतमा लगेर बलत्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।

अशोक र चापागार्इं बीचको चिनजानी दुई सातामात्र भएको र प्रेम प्रस्ताव लिएर गएका अशोकको प्रस्तावलाई उनले अस्वीकार गरेपछि उनीहरुले सामूहिक बलत्कारपश्चात हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

अन्य समाचारहरु