कुवेतमा हत्या अभियोगमा सुरुमा मृत्युदण्ड र लगत्तै आजीवन कारावास पाएकी डोल्माको कारावास सजाय अवधि पाँच वर्ष थपियो

– खाडी मुलुकको कुवेतमा फिलिपिनो सहकर्मीको हत्या अभियोगमा
सुरुमा मृत्युदण्ड र लगत्तै आजीवन कारावास पाएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पाको
कारावास सजाय अवधि पाँच वर्ष थपिएको छ । यसअघि कुवेती अमिरबाट सजाय मिनाहा भएर उनी
२०१२ को जुन महिनामा नेपाल फिर्ने भएकी थिइन् ।

एक महिनाअघि घर फिर्ने भन्दै फिर्ती केन्द्रमा पुर्‍याएर फेरि जेलमा लगिएकी
डोल्माले पाएको सबै सजायको मूल्यांकन भएर फेरि ५ वर्षे अवधी थप भएको परराष्ट्र
मन्त्रालयका एक अधिकारीले बताएका छन् । ‘हत्या अभियोगमा परिसकेको व्यक्तिलाई सजाय
छुट हुने कुनै नियम नरहेकाले डोल्माको केस पुनर्समीक्षामा पर्दा सजाय अवधि थपिन
पुगेको हो,’ ती अधिकारीले बताए । अब थपिएको जेल सजायअनुसार २०१७ को जुन २० मा
मात्रै डोल्मा नेपाल फिर्नेछिन् ।