ऋषि आचार्य
सिड्नी – गैर आवासीय नेपाली संघ (एनआरएन ) अष्ट्रेलियाको चौथो अधिवेशन अन्तर्गत भएको मतदान अनुसार अध्यक्ष पदमा गणेश केसी विजयी भएका छन्।
आज बिहान नर्थ सिड्नीस्थित बाणिज्यदूतको कार्यालयमा निर्वाचन आयुक्त दिपक खड्काले मत परिणाम घोषणा गर्दै गणेश केसीले १४११ मत प्राप्त गरी आगामी दुई वर्षका लागि एन आर एन अष्ट्रेलियाको अध्यक्ष पदमा विजयी भएको जानकारी दिए। केसीका प्रतिद्वन्द्वी वर्तमान सचिव पदमा कार्यरत विष्णु हमालले १२२८ मत प्राप्त गरेका थिए।
मत परिणाम घोषणा कर्यक्रमलाई सम्वोधन गर्दै नव निर्वाचित अध्यक्ष केसीले अफ्नो चुनावी प्रतिवद्धता अनुसार अष्ट्रेलियाको नेपाली समुदायको सेवा गर्ने बताएका थिए। केसीले नेतृत्व गरेको प्यानल सचिव, कोषाध्यक्ष, आईसिसि मा एक सदस्य, दुई उपाध्यक्ष बाहेक अधिकंस पदमा विजयी भएको छ। सचिव पदमा महेन्द्र ओलीले झण्डै तिन सय मत अन्तरले समिम अनवरलाई हराएका छन्। यस्तै कोषाध्यक्ष पदमा भरत पोखरेल १३२३ मत ल्याएर विजयी भएका छन्।
असार २६ गते आइतबार अष्ट्रेलियाको आठओटै राज्यमा एकैसात भएको मतदानमा करिव २५ सय मत खसेको थियो। एन आर एन को उपाध्यक्ष पदमा पदम लाल सापकोटा (न्यु साउथ वेल्स), भैरव ढकाल (पश्चिम अष्ट्रेलिया) र स्वतन्त्र प्रताप शाह (क्विइन्सल्याण्ड) मा विजयी भएका छन्। यसैगरी पाँचजना आई सि सि सदस्यहरुमा भुमा देवी लिम्वु, नरेश थापा, प्रलाद के सी, तपेन्द्र थापा र सुरेन्द्र सिग्देलले स्थान सुरक्षित गरेका छन्। एन आर एन अष्ट्रेलियाको चौथो अधिवेसन अन्तर्गत भएको मतदानमा नेपाली कांग्रेस, एमाले र माओवादीको समर्थनमा तीनवटा प्यानल खडा भएका थिए। के सी र हमालले क्रमस कांग्रेस र एमालेको प्यानलको नेतृत्व गरेका थिए। एन आर एनलाई राजनीतिकरण गरिएको भन्दै केही युवाहरुले चुनाव बहिस्कार समेत गरेका थिए।



