काठमाडौँमा वर्षकै अत्यधिक वर्षा

काठमाडौ  – उपत्यकामा गएको २४ घण्टाभित्र यस वर्षकै अत्यधिक वर्षा भएको
मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।

मनसुनी वर्षाको निम्नचापीय प्रभाव सक्रिय रहेकाले मंगलबार दिउँसोदेखि बुधबार
बिहान ६ बजेसम्म काठमाडौँमा ६७.९ मिलिलिटर वर्षा भएको र आज दिनभर नै उपत्यकामा भारी
वर्षा हुने मौसमविद् इन्द्रविक्रम सिंहले जानकारी दिए ।

निम्नचापीय प्रभाव पूर्व क्षेत्रबाट पश्चिम सर्ने क्रममा रहेकाले आज देशका मध्य
र पश्चिमी क्षेत्रमा भारी वर्षा हुने जानकारी दिँदै मौसमविद् सिंहले पूर्वी पहाडी
क्षेत्रमा ठूलै वर्षा भए तापनि पूर्वका तराई क्षेत्रमा वर्षा कम हुँदै गएको बताए ।

यसैबीच मंगलबार दिउँसोदेखि काठमाडौँ आसपासमा भइरहेको वर्षाका कारण बागमती
विष्णुमतीलगायतका नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोवास गरिरहेका
सुकुम्बासीहरूलाई सुरक्षित ठाउँमा जान प्रहरीले आग्रह गरिरहेको छ ।

काठमाडौंको तापमान पनि घटेको छ । केहीबेरअघि काठमाडौंको तापक्रम २०.७ डिग्री
सेल्सियस थियो । दिउँसो तापमान बढेर २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्नसक्ने
महाशाखाले जनाएको छ ।

रासस

अन्य समाचारहरु