मिथिलेश यादव
राजबिराज – सप्तरीको भारदह हनुमाननगर सडक खण्डबाट ट्रकका चालक तथा सहचालकलाई सशस्त्र समूहले अपहरण गरेका छन्। अपहरित सुनसरी इनर्वा-६ निवासी को १ ख २९५१ नम्बरको ट्रक चालक २९ वर्षीय रामप्रसाद साह र सहचालक २८ वर्षीय कृष्णश्रृषि देव छन्।
बिहीबार राति सुनसरीको इनर्वाबाट सप्तरीको हनुमाननगर आइरहेको ट्रकलाई पाँच सात जनाको सशस्त्र समूहले रोकेर चालक साह र सहचालक देवलाई भारदह १ स्थित कोशी नहरबाट अपरहण गरेको इलाका प्रहरी कार्यालय भारदहका सई चन्द्रदेव यादले बताए।
यसैबीच सशस्त्र भूमिगत सँगठन अखिल तराई मुक्ति मोर्चाका सप्तरी सुनसरी शैन्य कमाण्डर इन्द्रजितले सञ्चारकर्मीलाई फोन गरी अपहरणको जिम्मा लिएका छन्। मोर्चाविरुद्ध सुराकी गरेकाले उनीहरुको अपहरण गरेको इन्द्रजितले बताए।
अपहरीतको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ।



