
मस्को, रुस – गैरआवासीय नेपालीहरुको छैटौं क्षेत्रीय सम्मेलन रुसी
महासंघको राजधानी मस्कोमा शनिबार सुरु भएको छ । दुईदिने सम्मेलनमा यूरोप, अमेरिका,
अष्ट्रेलिया, जापानलगायतका मुलुकबाट आएका तीनसय भन्दा बढी नेपाली नागरिक र
नेपालीभाषीको सहभागिता छ ।
‘गैरआवासीय नेपाली (एनआरएन) सञ्जालको सम्बर्द्धन: ‘नेपालको प्रवर्द्धन’ नाराका
साथ सुरु भएको सम्मेलनको उदघाटन उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादब र
मस्कोका प्रान्तीय संसदका सभामुख प्लातोनोभ भीएमले संयुक्त रुपमा गरेका थिए ।
आर्थिक कुटनीतिको सम्बर्द्धन एवम् एनआरएनको विस्तारसम्बन्धी बिषयमा केन्द्रित
सम्मेलनमा राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा र यूरोपस्थित नेपाली राजदूतहरु
सहभागी छन् ।
‘आर्थिक कूटनीतिको सफल कार्यान्वयन गर्न सकेमा एनआरएनका अधिकतम मुद्दा स्वतः
सम्बोधन हुनेछन्,’ कार्यक्रमका बिशेष अतिथि परराष्ट्रमन्त्री यादबले भने, ‘बिदेशमा
रहेका नेपालीहरुको अध्ययन, अनुभव र बिशेषज्ञताबाट थुप्रै कुरा सिक्न हामी तत्पर छौं
।’ सरकारले एनआरएनको बिशेष भूमिकालाई आधिकारिक रुपमै पहिचान गरिसकेको उनले उल्लेख
गरे ।
कार्यक्रमका बिशेष अतिथी मस्को प्रान्तिय संसद (ड्यूमा) का सभामुख प्लातोनोभले
सम्मेलनका अवसरमा आफूले पुराना नेपाली मित्रहरुलाई भेट्न पाएको बताए । कुनै बेला
आफूले नेपाली उद्यमी भरत पौडेलको एभरेष्ट कम्पनीमा काम गरेको स्मरण पनि उनले गरे ।
‘हामी जहिले संगै हुन्छौं, तबमात्र सफल हुन्छौं,’ प्लातोनोभले नेपाल-रुस सम्बन्धलाई
औल्याउंदै भने, ‘त्यसैले हामी संधै संगै हुन्छौं भन्ने प्रण गरौं ।’
गर्भनर खतिवडाले शान्ति र विकासलाई संगसंगै लैजानुपर्ने चुनौति रहेको उल्लेख
गर्दै विदेशमा बस्ने सबै नेपालीलाई राष्ट्र निर्माणमा सरिक हुन आह््वान गरे ।
कार्यक्रममा एनआरएन संगठनका प्रमुख संरक्षक उपेन्द्र महतोले देशभित्र वा बाहिर जहां
बसे पनि नेपाल बनाउने जिम्मेवा नेपालीकै रहेको बताए ।
‘यो देश तपाई-हामीले बनाएनौं भने भोली हामीलाई हाम्रै छोराछोले धिक्कार्ने छन्,’
उनले भने, ‘हामी यसका निम्ति सक्षम छौं ।’ एनआरएन अभियान रुसबाटै सुरु भएको सम्झदै
उनले मस्को सम्मेलनपछि यसले नयां उचाई लिने धारणा राखे ।
मस्को सम्मेलनको आयोजना एनआरएनका उपाध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित
समितिले गरेको हो । कार्यक्रममा बोल्दै लामिछानेले नेपाली समुदायलाई जोड्ने पुलका
रुपमा रहेको एनआरएनले अगाडि आउने सबैखाले चुनौतिहरु पार गरेर नेपाल निर्माणमा
भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरे ।
आइतबारसम्म चल्ने सम्मेलनमा आर्थिक कूटनीति, नेपालमा लगानी प्रवर्द्धनको
सम्भावना, द्वैध नागरिकताको प्रश्न, वैदेशिक रोजगालगायतका बिषयमा छुट्टाछुट्टै
अन्तक्रया गरिदैछ । कार्यक्रममा यूरोपस्थित नेपाली राजदूतहरु सुरेशराज चालिसे,
सुरेश प्रधान, सूर्यकिरण गुरुङ, दिनेश भट्टराई, बिजयलाल कर्ण, मोहनकृष्ण श्रेष्ठ र
नेपालका लागि रुसी राजदूत सर्जेइ भेलिस्किनले पनि आ-आफ्ना धारणा राखेका थिए ।
सन् २००३ मा औपचारिक रुपमा सुरु भएको एनआरएन संगठनका इकाईहरु (राष्ट्रिय समन्वय
परिषद) नेपाली समुदायको बसोबास रहेको विश्वका ५६ मुलुकहरुमा गठन भइसकेका छन् भने
यसअन्तर्गत करिब ३० लाख नेपाली र नेपालीमूलका व्यक्तिहरु समेटिएका छन् ।



