काठमाडौको वीर अस्पतालमा उपचारका लागि लगिएका एक कैदी हत्कडीसहित फरार

काठमाडौ – काठमाडौको वीर अस्पतालमा उपचारका लागि लगिएका एक कैदी हत्कडीसहित
फरार भएका छन् । हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैद
सजाय भुक्तान गरिरहेका कैदी टेन्सन भन्ने डेनी लामा बुधबार दिउँसो हत्कडीसहित फरार
भएका हुन् ।

केन्द्रीय कारागार अस्पताल शाखाको सिफारिसमा उपचारका लागि बिहान १० बजे एक
हवल्दार र सिपाहीको साथमा अस्पताल पठाइएको केन्द्रीय कारागारका जेलर तीर्थराज
भट्टराईले बताए ।

‘कारागारभित्रको अस्पतालले गरेको सिफारिसका आधारमा पठाइएको हो,’ भट्टराइले भने,
‘अस्पतालबाट आउने समयभन्दा ढिलो आएकाले खोजी गर्दा फरार रहेको भेटियो ।’ नियमित
हुने कैदी र प्रहरी रोलकलमा नभेटिएपछि उनीहरूको खोजी भएको थियो ।

टेन्सन लामा टाउको दुखेको उपचारका लागि वीर अस्पताल पठाइएका थिए । केन्द्रीय
कारागारमा रहेको अस्पतालले सामान्य उपचार भित्रै गर्ने प्रावधान छ । तर सामान्य
उपचार गराउन पनि अस्पतालले कैदीलाई बाहिर पठाउन सिफारिस गर्ने गर्छ ।

केन्द्रीय कारागारबाट कैदी भागेको घटना यो पहिलो भने होइन । यसअघि नक्कली भारतीय
नोटको कारोबारमा पक्राउ परेका एक पाकिस्तानी नागरिक मुटुको उपचार गराउन गंगालाल
अस्पतालमा बसेका बेला अस्पतालबाटै भागेका थिए । यस्तै कैदीका लागि आवश्यक पर्ने
सामान खरिद गर्न गएका टासी लामा २० लाख नगद र लागूऔषधसहित दरबारमार्गमा पक्राउ
परेका थिए ।

कैदीलाई प्रहरी हवल्दार हरिकृष्ण अवस्थी र प्रहरी जवान तीर्थबहादुर ओलीले लिएर
गएका थिए । ‘बिहान कैदीसहित गएका प्रहरी साँझसम्म नआएपछि खोजी गर्दा सुन्धारामा
प्रहरी मात्रै भेटिए,’ महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता एसएसपी माधव
नेपालले भने, ‘प्रहरीले नियतवश भगाएका हुन् या कैदी झुक्याएर भागेको हो भन्ने
विषयमा अनुसन्धान भइरहेको छ ।’

कारागार प्रशासनका अनुसार डेनी २०६६ चैत १२ गते केन्द्रीय कारागारमा पठाइएका थिए
। जिल्ला प्रशासन कार्यालयले हतियार खरखजानाको मुद्दामा उनलाई साढे ३ वर्षको कैद
सजाय सुनाएको थियो । कर्तव्य ज्यान र चोरीको मुद्दा भने जिल्ला अदालत काठमाडौंमा
चलिरहेको छ ।

डेनीलाई लिएर गएका कैदी पोसाकसहित गएका थिए । ‘पोसाकसहित गएका प्रहरीको
नियन्त्रणमा भएको कैदी फरार हुनु शंकास्पद छ,’ आयुक्तको कार्यालयका एक प्रहरी
अधिकृतले भने, ‘नियोजित पनि हुनसक्छ ।’

प्रहरीले डेनीलाई लिएर जाने दुवै प्रहरीलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर
काठमाडौंको थुनुवा कक्षमा राखेको छ । ‘कैदी के कसरी भागेको हो भन्ने विषयमा
अनुसन्धान गर्न प्रहरीलाई नै पक्राउ गरिएको हो,’ आयुक्तको कार्यालयका प्रवक्ता
एसएसपी नेपालल भने ।

नेपालका अनुसार प्रहरी हवल्दार गत जेठ २० गते दोलखाबाट सरुवा भएर कारागार
सुरक्षार्थ पुगेका हुन् । प्रहरी जवान गत फागुन अन्तिम साता युनुस अन्सारीलाई
केन्द्रीय कारागारभित्रै गोली हानिएपछि परिवर्तन गरिएका प्रहरीमध्येका एक हुन् ।
उनलाई गणबाट त्यहाँ लगिएको थियो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन
गरेको छ । आयुक्तको कार्यालयका एसपी भूपालकुमार भण्डारीको संयोजकत्वमा छानबिन समिति
गठन गरेको छ । त्यसमा काठमाडौं परिसरका डीएसपी धीरजप्रताप सिंह र महानगरीय प्रहरी
अपराध महाशाखाका प्रहरी निरीक्षक अनुपम श्रेष्ठ छन् ।

अन्य समाचारहरु