स्याङ्जा – स्याङ्जामा दुई फरक घटनामा बिहीबार तीन जनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ। मोटरसाइकलमै सवार एलिना गोदार गम्भीर छिन्। उनको पोखरास्थित चरक अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी पत्नीको हत्या गरेर एक पुरुषले आत्महत्या गरेका छन्।
स्याङ्जाको फेँदीखोला-१ बडाचौरमा बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्याङ्जाबाट पोखरा जाँदै गरेको लु १ ख २७२८ ट्रकलाई उछिन्ने क्रममा ठक्कर खाँदा ग २ प ५३१३ नम्बरको मोटरसाइकल चालक फेँदीखोलाका चित्रबहादुर केसीको घटनास्थलमै मृत्यु भएको घटनास्थल पुगेका प्रहरी निरीक्षक मनोज पौडेलले नागरिकलाई बताए।
पुतलिबजार नगरपालिका १२ राङखोलामा मजदुरी गर्दै आएका एक पुरुषले आफ्नै पत्नीको घाँटी रेटी हत्या गरेका हुन। पत्नीको हत्यापछि पतिले पनि सोही हतियारले घाँटी रेटेर आत्महत्या गरेका प्रहरीले जनाएको छ।
बाग्लुङ घर भएका श्यामबहादर क्षेत्रीले पत्नी २१ वर्षीया रीता क्षेत्रीलाई धारिलो हँसियाले रेटेर आफू पनि रेटिएका प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी अधिकारीले बताए। प्रारम्भिक अनुसन्धानमा घर झगडाका कारण घटना भएको प्रहरीले जनाएको छ।



