विराटनगर – विराटनगरमा विभिन्न स्कुल कलेजका शैक्षिक योग्यताको प्रमाणपत्र र
सवारी चालक अनुमतिपत्रलगायतका नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले शनिवार
पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगरको जहदा रोडमा छपाई सम्बन्धी व्यवसाय गर्ने सिराहा
नवराजपुर ४ का नारायण यादव र सुनसरी दुहवी ६ का सेवकराम विश्वास छन् । प्रहरीका
अनुसार यादव प्रमाणपत्रहरु बनाउने र विश्वास ग्राहक खोजेर ल्याउने कमिसन एजेन्ट
हुन् ।
उनीहरूका साथबाट दुइवटा कम्युटर सेट, एउटा फोटोकपी मेसिन, शिक्षा मन्त्रालय,
शिक्षा विभाग, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, उच्च मावि शिक्षा
परिषद, परिक्षा नियन्त्रण नियन्त्रण कार्यालय र भारतको विहारलगायत विभिन्न स्थानका
विश्वविद्यालयका कागजात र छाप बरामद भएको छ ।
यस्तै विभिन्न तहका शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र लगायतका सामग्री
पनि बरामद भएको छ ।



