धादिङ – धादिङमा गैडांको खागको खबटो -खगौतो) बिक्रि गर्न ग्राहकसँग मोलमोलाई गरेर बसिरहेको अवस्थामा रहेका दुई जनालाई इलाका प्रहरी कार्यालय गजुरीले फुर्केखोलाबाट पक्राउ गरेको छ ।
बुधबार साँझ सवा ६ बजे तिर फुर्केखोलाको पुलमा बसेर खबटो सहित मोलमोलाई गरिरहेको अवस्थामा सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङकै नलाङ गाविस ६ घर भइ फुर्केखोलामा फलफुल पसल गर्दै आएका ४४ वर्षीय बलराम सिलवाल र ढोला गाविसका ५२ वलर्षी लक्ष्मण भनिने लेखनाथ दुवाडी रहेका छन् ।
हिन्दु परम्परामा मृत्यु भएका मानिसको श्राद्धमा -तर्पण दिन) पानी चढाउन प्रयोग गरिने खगौतो भनिने सो खबटो एक लाख रुपैयाँको मोलमोलाई गरेर ग्राहकको प्रतिक्षामा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । करिव १६ तोलाको सो खबटो खाग भन्दा मुनीको हड्डी भएको बताइएको छ । पक्राउ परेका दुवैले घरमै रहेको सो खबटोको पैसा आउने थाहा पाएर बेच्न लागेको बताएका छन् । उनीहरुलाई आवश्यक अनुसन्धान पुरा गरी कानुनी कारबाहीको लागि बिहीबार जिल्ला वन कार्यालयलाई बुझाइने प्रहरीले जनाएको छ । संरक्षित जनावर गंैडाको खबटो बिक्रि गर्न खोज्ने दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा चलाइने जिल्ला वन कार्यालय धादिङले जनाएको छ ।



