गोरखामा झाडापखालाबाट तीनको मृत्यु, छ जनाको अवस्था गम्भीर

गोरखा  – गोरखा जिल्लाको सिर्दीवास गाउँ विकास समिति वडा नं. ७ स्थित पादी र डोयल गाउँमा झाडापखालाबाट तीन जनाको मृत्यु भएको छ भने छ जनाको अवस्था गम्भीर रहेको छ।

सिर्दीवास उपस्वास्थ्य चौकीमा सिटामोलसम्म पनि नभएको बुद्ध मावि सिर्दीवासका शिक्षक सविन खड्काले जानकारी दिए।


रोगग्रस्त क्षेत्रमा पुगेर सिर्दीवास पुगेका शिक्षक खड्का औषधि उपचार आजै नपाए मृत्यु हुनेको सङ्ख्या बढ्ने बताउँछन्।


मृत्यु हुनेहरूमा वडा नं. ७ का ४२ वर्षीय विपिन गुरुङ, ४६ वर्षीया सुन्दरी गुरुङ र वडा नं १ का आठ वर्षीया विना गुरुङ रहेको बुद्ध मावि सिर्दीवास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुले जानकारी दिए।


एक महिना अघिदेखि फैलिएको उक्त रोगले जीउ काम्ने, रिङटा लाग्ने, वाकवाक लाग्ने, जीउ कालो हुने, खान मन नलाग्ने, झाडापखाला लाग्ने र अन्त्यमा मृत्यु हुने गरेको छ।


पादी गाउँ, डोयल गाउँमा झाडापखाला फैलिएको छ। कुल ११५ घरधुरी रहेको वडा नं. ७ मा ७० घरमा १०० भन्दा बढी बिरामी रहेको उनले बताए।


आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य टोली त्यसतर्फ लागिसकेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ। जिल्ला सदरमुकामबाट सिर्दीवास पुग्नका लागि तीन दिनको पैदल यात्रा गर्नुपर्दछ।


आरुघाटबाट डा. विजय श्रेष्ठको टोली आज साँझसम्म सिर्दीवास पुग्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए।


एउटै घरमा चार जनासम्म बिरामी रहेको र रोग फैलिएको क्षेत्रमा छिटोभन्दा छिटो उपचार गर्नुको विकल्प नरहेको स्थानीय गुनबहादुर कार्कीले बताए।


हिँडेर डाक्टर आउँदासम्म यहाँ कति जनाको ज्यान जान्छ भन्न सकिँदैन यसका लागि सरकारले हेलिकप्टरबाट डा.सहितको टोली ल्याई उपचार गर्नुपर्दछ। झाडापखाला अन्तिममा लागेको यो रोगको सही निदान पनि हुन सकेको छैन यसको लागि विकट गाउँको समस्या सम्बन्धित निकायमा सुनाइ दिनु पर्‍यो- कार्कीले भने। रासस

अन्य समाचारहरु