रुकुम – रुकुममा उपचार नपाएर एक सुत्केरीको मृत्यु भएको छ । भलाक्चा – ९ की २३ वर्षीया तोला विकको उपचार अभाबमा मृत्यु भएको हो ।
तीन दिनदेखि सुत्केरी व्यथा लागेकी उनको विहीवार दिउँसो जिल्ला अस्पताल सल्लेमा लिदै गर्दा बाटैमा मृत्यु भएको हो । बच्चा जन्माउन नसकेपछि उनको अत्यधिक रक्तश्राबका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक किशोर श्रेष्ठका अनुसार मंगलबार बिहानबाट सुत्केरी व्यथा लागेकी बिकको तिनदिनसम्म बच्चा नजन्मिएपछि अन्तिम अबस्थामा उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
‘मृतक विरामी भएदेखि लगातार तिनदिनसम्म अत्यधिक रक्तश्राब भएको जानकारी आएको छ ।’ उनले भने ‘विरामीलाई घरमै घरेलु उपचार गरेकाले थप अवस्था गम्भीर अवस्था भएको रहेछ ।’ उनका अनुसार अस्पताल पुग्नुभन्दा पन्ध्रमिनेट अगाडि सुत्केरीको मृत्यु भएको हो ।
जिल्लामा एक महिनायता उपचार नपाएर तिन सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका डा. युद्धिस्टिरकुमार खड्काले सुत्केरीहरुलाई अन्तिम अबस्थामा पनि स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्थामा उपचारका लागि नआउने गरेकाले मृत्यु हुने गरेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक महिनाको अबधिमा मुरुमा १ जना र स्यालाखदीमा २ जना सुत्केरीहरुको उपचार अभाबमा मृत्यु भएको हो ।



