पोर्तुगलमा गजुरेल र ओलीले नेपालीलाई नचाए हँसाए


 

हाँस्य कलाकार मनोज गजुरेल र चर्चित लोक गायिका कोमल ओलीले पोर्तुगलवासी नेपालीहरुलाई देशप्रति निरन्तर माया गर्न अनुरोध गर्दै नचाएका छन्, हँसाएका छन् ।


लोक गीत गाउँदा सयौ दर्शकहरु गायिका ओलीसँगै ढल्की ढल्की नाचेका थिए भने गजुरेलको सन्देशमूलक हाँस्य प्रस्तुतिमा जोडदार तालीका गड्गडाहटसहित हाँसेका थिए ।


तीज नजिकिएको बेला ओलीले यत्तिको मर्द भेटिएन खोई, पोइल जान पाम्, नाचौं हामी डिस्कोमा तीज, बाँझो खेतमालगायतका गीत गाएकी थिइन् । गजुरेलले समसामयिक राजनीतिक व्यङ्ग्यमा आधारित हाँस्य प्रस्तुति पस्केका थिए । गजुरेलको हास्यब्यङ्गमा मनोरञ्जन मात्र थिएनन्, देशको राजनीतिक अवस्था सुध्रनु पर्छ भन्ने देशभक्तिपूर्ण चिन्ता झल्कन्थे ।


दुवै कलाकार तर अलग विधाका ओली र गजुरेलको यसपटकको युरोप यात्रालाई प्रवासी नेपालीहरुले निकै मन पराएका छन् । युके, जर्मनी, स्पेन र पोर्तुगलमा कार्यक्रममा सहभागी भएपछि ओली र गजुरेल भोलि पुन युकेको एउटा कार्यक्रम सम्पन्न गरेपछि नेपाल फर्कने बताएका छन् ।


कार्यक्रम आयोजकहरु गैर आवासीय नेपाली संघ, पोर्चुगल नेपाल मैत्री संघ, पोर्तुगल र कला संस्कृति तथा साहित्य संचार परिषदले कलाकारद्वयलाई सम्मान गरेका थिए । पोर्चुगलवासी नेपालीहरुलाई पर्ने आकस्मिक घटनाहरुमा राहत र सहयोग पुर्‍याउन स्थापना गरिने अक्षय कोषको सहयोगार्थ आयोजित मनोरन्जनात्मक कार्यक्रम लिस्बोन, इस्टेफानियाको अडिटोरियम कामोइसमा भएको थियो ।


कार्यक्रमको उद्घाटन एन आरएन अध्यक्ष रमेश गुरुङ, मैत्री संघ अध्यक्ष मकर हमाल र कला परिषद् अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरेर गरेका थिए । रमेश गुरुङको अध्यक्षतामा भीम केसीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने विष्णु गौतमले सञ्चालन गरेका थिए ।