जर्मनीमा सांस्कृतिक एवं पर्यटन सन्ध्या सम्पन्न

SAM_1234

 

– दिपेन्द्र सुवेदी

 

जर्मनी l जर्मनीको नर्थ राइन  वेस्टफालेन क्षेत्र अन्तर्गतको कास्ट्रोप राउक्सेल शहरमा दशकौं देखि संचालित होटेल हुबेर्टमा स्थापित रेस्टुरेन्ट नमस्तेमा “नेपाली सांस्कृतिक एवं पर्यटन प्रवर्धन सन्ध्या “सफलताका साथ सम्पन्न भएको छ l

 
विशुद्ध नेपाली तथा आयुर्वेदिक परिकारको माध्यमवाट छोटो समयमा नै स्थानीय एवं वरपरको क्षेत्रमा खाना पारखिहरुमाझ लोकप्रिय हुन सफल रेस्टुरेन्ट नमस्तेको संचालनको १०० दिन पुगेको उपलक्ष्यमा आयोजित सांस्कृतिक एवं पर्यटन सन्ध्यामा चाखलाग्दा प्रस्तुतिहरु, रमाइला नृत्यहरु र स्वादिला परिकारहरुको साथमा रोचक एवं मनोरन्जनपूर्ण रुपमा संचालन भयो l


कार्यक्रमको शुरुमा अतिथिहरुलाई स्वागत गर्दै  प्रबन्धक  दिपेन्द्र सुवेदीले १०० दिनको छोटो अवधिमा नै स्थानीयमाझ नेपाली परिकार लोकप्रिय हुन पुगेकोमा खुशी व्यक्त गर्दै हजारौं कोष टाढाको पाक शैलीप्रति ग्राहकहरुको विश्वशनीयताप्रति धन्यवाद प्रकट गरेका थिए l 

 

SAM_1292


नेपाली अवैतनिक  वाणिज्यदूत  राम प्रताप थापाले कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै  रेस्टुरेन्ट नमस्तेले १०० दिनको छोटो समयमा हासिल गरेको विश्वास र  सन्तुष्टि अझ आगाडि बढ्दै जाओस भन्ने शुभकामना व्यक्त गरेका थिए l शर्मा परिवार र सुवेदी परिवारले रेस्टुरेन्ट संचालन मात्र नगरी आफ्नो मातृभूमिको प्रचार र प्रवर्धन समेत गरेर साँच्चिकै नागरिक दुतको काम गरेकोमा प्रशंशा गरेका थिए l


तेह्र पटक नेपालको भ्रमण गरेका मार्कुस वोल्नर (नेपाली नाम:हाक्कु)ले नेपाली प्राकृतिक सम्पदा, भौलोगिक सुन्दरता एवं आतिथिसत्कारका धनी नेपाली जनताको वारेमा शव्द र चित्रको माध्यमबाट चर्चा गर्दै नेपाल जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य भएको कुरामा  जोड  दिंदै सबैलाई एकपटक नेपाल भ्रमणमा जान सल्लाह दिएका  थिए l


कार्यक्रमका अर्का प्रस्तोता युर्गेन आकरमानले युगौंदेखि चलिआएको प्राकृतिक चिकित्सा पद्धतिको विषयमा प्रकाश पार्दै लामा झाँक्री विद्याको वारेमा विस्तृत चर्चा गरेका थिए l पश्चिमा चिकिस्ता शिक्षाको तुलनामा नेपालमा प्रचलित प्राकृतिक चिकित्साले  शारीरिक तथा मानसिक स्वास्थ्य समस्या समाधान गर्न धेरै सकारात्मक प्रभाव पार्ने तथ्य आफ्नो बर्षौंको अनुभवले सिद्ध भएको बताएका  थिए l

 

SAM_1502


त्यसपछि दिपेन्द्र सुवेदीले गत वर्ष आफ्नो शुभ विवाहको अवसरमा स्थापना गरेको “दिपेन्द्र-गीता शिक्षा कोष”ले हालसम्म गरेको कार्यहरुको प्रगति-विवरण प्रस्तुत गर्दै आगामी योजनामाथि प्रकाश पारेका थिए l कोषले चितवनका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिरहेको छ l


स्थानीय बुद्धिजीवी,पेशाकर्मी,राजनीतिज्ञ,प्रशासक ,समाजसेवी,पर्वतारोही एवं नेपालप्रेमी जर्मन नागरिकहरुको उल्लेख्य उपस्थित रहेको सो कार्यक्रममा संचालक प्रकाश शर्माले उक्त साँझलाई  रोचक एवं मनोरन्जनात्मक बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै रात्रीभोजमा सरिक हुन आग्रह गरेका थिए l

 

SAM_1261

 


हरेक प्रस्तुतिको वीचमा गोमा शर्मा र एन्जिला सुवेदीको एकल तथा युगल नृत्यहरु को साथमा संचालित  उक्त सन्ध्यामा सहभागी आगन्तुकहरु औपचारिक समापनपछि स्वादिस्ट भोजन ग्रहण गर्दै रमाइला भलाकुसारीमा रमाइरहेका थिए l

 

SAM_1245