जाजरकोट – जाजरकोटमा मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका छन् । सातायता फैलिएको भाइरल ज्वरोले एक जनाको मृत्यु भएको छ । सीमा २ की ३० वर्षीया सुशीला घर्तीको गत शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनायो ।
भाइरल ज्वरोले जिल्लाका ३ सयभन्दा बढी प्रभावित छन् । एक दर्जनभन्दा बढी गाविसमा भाइरल देखापरेको छ । मौसम परिर्वतन, दुषित पानी र खानपिनमा उचित ध्यान नपुर्याउँदा भाइरल ज्वरो प्रकोपका रूपमा देखा परेको जिल्ला अस्पतालका डा. अमल बस्नेतले बताए । ‘दैनिक सयको हाराहारीमा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्’ उनले भने । बिरामीहरूमा सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, तारन्तार वान्ता आउने, झाडापखाला लाग्नेलगायतका लक्षण देखा पर्ने गरेको डा. बस्नेतले बताए । दुषित पानी पिउने, सरसफाइको कमी, बासी खानाका कारण भाइरल फैलिएको हो ।
समयमै उपचार नगराए यो रोगले बिरामीको ज्यानसमेत जान सक्ने खतरा हुने डा. बस्नेतको भनाइ छ । अधिकांश स्थानमा ज्वरो तथा टाइफाइडका बिरामी बढ्न थालेका छन् । यो रोगबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रबाट भाइरलका रोगीलाई डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने गरिएको छ ।