खाँदबारी – संखुवासभा सदरमुकाम खाँदबारी वजार क्षेत्रमा पहिरोले खानेपानीको पाइप वगाएपछि खानेपानीको समस्या भएको छ । बिहीबार आएको पहिरोले खानेपानी योजना अन्तर्गत महभरी मुहान नजिकै पहिरोले खानेपानीको पाइप बगाएको छ ।
पहिरोले करीब ५० मिटर प्लाष्टिकको पाइप बगाएको खाँदबारी नगरपालिकाका कार्यकारी अधिकृत अग्नीप्रसाद अधिकारीले बताए । उनका अनुसार एकसाता लामो परेको झरीले ५० मिटर माथिवाट पहिरो झरेको बताए । पहिरोले नगरक्षेत्रमा बितरणका लागि ल्याएको पाइप चुड्याएको छ । क्षतिग्रस्त पारेको पाइप मर्मतका लागि कर्मचारी खटाईसकेको छौं । उनले भने, ‘२ दिन भित्र खानेपानी नियमित संचालनमा ल्याउछौ, पाईप मर्मत गर्न शुक्रवार बिहानबाटै ६ जनाको समुहमा कर्मचारी खटिएका छन् ।’
पानी अवरुद्ध भएपछि खाँदबारीबजारमा आकाशे पानी थापेर काम चलाउन थालिएको छ । बजार वरिपरी भएका पानीका मुहान र कुवामा स्थानीयको भीड लाग्न थालेको छ । खाँदबारी १ पाठक टोलका बासु भण्डारी पानी नआएपछि २ घण्टासम्म कुवामा लाइन बस्नु परेको बताउछन् । उनले नगरपालीकाले पहिरो गएपछि पनि मर्मत गर्ने तर्फ चासो नदेखाएको दुखेसो गरे ।
खाँदबारी नगरपालीकाले नगर क्षेत्रको १,३,१० र ११ नम्वर वडामा १ हजार धारा जोडिएको जनाएको छ । मर्मत पछि मात्रै पानी नियमित बितरण हुने नगरपालीकाका ओभरसियर सञ्जय देवानले बताए ।



