त्यस्तै दक्षिणी गाविस वोपुङ ८, स्थित विजय प्राथामिक विद्यालय वालिङको भवन चर्किएको छ। भवन चर्किपछि पठनपाठन बन्द गरिएको प्रधानाध्यापक राजेश्वर राईले बताए। ‘पहिराले स्कुल बगाउला भन्ने त्रास बढेको हुनाले अलिबार स्कुल पठनपाठन बन्द गर्ने निर्णय गरेका छौं’ उनले भने। पहिरो विद्यालयभन्दा ५० मिटर तल आइपुगेको उनले बताए। स्कुल भवनको गारो चर्किएपछि सम्भावित दुर्घटनाको खतरा बढेकाले पठनपाठन बन्द गराइएको राईले बताए। दुई महिनाअघि नै गएको पहिराले त्यस ठाउँका स्थानीय रामबहादुर विश्वकर्मालगायत तीनदर्जन घरधुरी विस्थापित भइसकेका छन्।
स्थानीयका अनुसार पहिरोकै कारण स्कुल वरपरको जमिन भासिँदै गएको छ। विद्यालयको दुई काठेभवनको आधा भाग चर्किएको छ। जुनसुकै बेला पहिरो जान सक्ने खतरा बढेपछि पठनपाठन बन्द गरिएको प्रअ राईले बताए।
त्यहाँका खरवनी, बेलडाँडा, वालिङ, डुम्रीबोटे, ह्युराङ, छ्वाल, साउने र देवीस्थान गाविसको अँधेरी गाउँ पहिराको खतरामा रहेको स्थानीयले बताएका छन्।
विजय प्राविको भवन चर्किएकोबारे भने कुनै जानकारी नआएको निजिशिअ राईले बताए। सदरमुकामदेखि दुईदिन पैदल दूरीमा पर्ने तथा सञ्चार सुविधा पनि नभएकाले खवर नआईपुगेको हुनसक्ने राईले बताए।



