दैलेखमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

दैलेख – दैलेखमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । तोली गाविस-५ की ४३ वर्षीया मानकुमारी मल्लको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।

तोली-५ ठुटेसिमल नजिक खानेपानीको इनटेक निर्माणको काम भईरहेको अवस्थामा भीरमाथिबाट ढुंगा लागेर उनी गंम्भीर घाइते भएकी थिइन् । त्यस क्षेत्रमा विश्व खाद्य कार्यक्रमको सहयोगमा वीनरक इन्टरनेशनल, सिप्रेड र डेप्रोक्स नेपालको प्राविधिक एवं सामाजिक परिचालनमा विस्तारित राहत तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत सिंचाई र खानेपानीका आयोजना निर्माण भईरहेका छन् । उनी सिंचाई तथा खानेपानी आयोजना उपभोक्ता समितिकी कोषाध्यक्ष हुन् ।

 उनको छाती तथा पेटमा गंम्भीर चोट लागेको थियो । प्राथमिक स्वास्थ्यकेन्द्र नौमुलेमा सामान्य उपचार पछि उनलाई जिल्ला अस्पतालमा ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि नेपालगंज लैजाने क्रममा सुर्खेत र नेपालगंजको बीचमा पर्ने बबईमा शनिबार मृत्यु भएको हो । 

अन्य समाचारहरु