लमजुङ – लमजुङसँगै जोडिएको उत्तरी तनहुँको रूपाकोटस्थित एक विद्यालयका शिक्षकलाई छात्रामाथि हातपात गरेको आरोपमा एक लाख रूपैयाँ जरिवाना गरिएको छ ।
तनहुँको रूपाकोट गाउँ विकास समितिको वडा नं. ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक कृष्णविलास पौडेललाई छात्राहरूलाई हातपात गरेको आरोपमा एकलाख १० हजार रूपैयाँ जरिवाना गरिएको हो ।
विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा शिक्षकमाथि जरिवाना तिराउने यो सम्भवतः देशकै पहिलो घटना हो ।
गत साउन २७ गते कक्षा ६ का चारजना छात्रालाई हातपात गरेपछि शिक्षक पौडेल फरार भएका थिए । घटनाको भोलिपल्टै बसेको विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको संयुक्त भेलाले पौडेलविरुद्ध सो निर्णय गरी पाँच दिनभित्र विद्यालयमा हाजिर नभए जिल्ला शिक्षा कार्यालयमार्फत कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि उनी विद्यालयमा हाजिर हुन आएका थिए ।
स्थानीयवासीले निज शिक्षकलाई रूपाकोट गाविस र त्यस वरपरसमेत अध्यापन गर्न नपाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले बताए ।
उक्त जरिवानावापत्को रु. एक लाख १० हजार विद्यालयको अक्षय कोषमा जम्मा गर्ने निर्णय भएको अभिभावक चिजा कुँवरले बताए ।
रासस



