रामेश्वर कार्की
धादिङ – कल्लेरी गाविस १ स्थित रामकुवाको कच्ची सडकमा मिनीट्रक पल्टिँदा एक नाबालकसहित चारको घटनास्थलमै मृत्यु भएको छ। घटनामा दश जना घाइते भएका छन्। धादिङको कल्लेरी गाविसबाट खाल्टे तर्फ जाँदै गरेको ना १ ज ३३८ नम्बरको मिनीट्रक आइतबार दिउँसो ४:३० मा पल्टिएर दुर्घटना भएको हो।
घटनामा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। गाउँमा सामान ढुवानी गर्ने मिनीट्रक भएकाले सबै स्थानीय हुन सक्ने अनुमान गरिएको छ। उद्दारका लागि घटनास्थल तर्फ प्रहरी चौकी बैरेनी र इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनास्थल जिल्ला सदरमुकामबाट तीन घण्टा टाढा रहेको छ।