– कर्ण जङ रायमाझी
सियोल, भाद्र २२ – यति बेला कोरियालाई ठूलो पर्व छुसकले छोएको छ । नेपालीहरूबीच दसैंकै जस्तो महत्त्व रहेको यो पर्वले नेपाली कलाकारलाई साँच्चिकै दसैंको स्थितिमा पुर्याइदिएको छ । यहाँका चार नेपाली संस्थाले भिन्नाभिन्नै सांस्कृतिक कार्यक्रम गर्न लागेपछि नेपाली कलाकारहरूको तानातान जस्तै भएको छ । राजधानी सियोलका विभिन्न आधुनिक हलमा आउँदो आइतबार दुई तथा सोमबार र मंगलबार एक-एक कल्चरल सो हुँदै छन्, जसका लागि एक्काइसजना नेपाली कलाकार निम्त्याइएका छन् ।
‘हिमाल पहाड तराई, सहयोग सद्भाव र मित्रता बढाऔं, कोही छैन पराई’ नारासाथ मगर संघले आफ्नो आठांै वार्षर्िकोत्सव पारेर आइतबार ‘रमाइलो सांस्कृतिक सौगात-शृंखला ४’ प्रस्तुत गर्न लागेको हो । यो शृंखलामा गायिका इन्दिरा जोशी, अभिनेत्री सोनिया केसी, गायक प्रमोद खरेल, लोकदोहोरी कलाकार राजु गुरुङ र मुना थापा मगरले मनोरञ्जन दिनेछन् । यसको नाफा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको छात्रवृत्ति कोष र विमेन फर विमेनले स्थापना गर्न लागेको महिला आवास गृहलाई प्रदान गरिने आयोजकले बताएको छ ।
आइतबारै सोलुखुम्बु सम्पर्क समितिले ‘सगरमाथा सांस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ । यसका लागि गायक राजेशपायल राई, नृत्यांगना सोनाम गुरुङ, गायिकाहरू माण्डवी त्रिपाठी र प्रकृति गिरी निम्त्याइएका छन् । प्रस्तुतिको मुख्य उद्देश्य भने पर्यटन वर्षको प्रचारप्रसार गर्दै नेपाली भूमिलाई कोरियामा चिनाउनु रहेको छ ।
सोमबार कास्की परिवारले ‘माछापुच्छ्रे सांगीतिक सौगात’ राखेको छ । हास्य कलाकारद्वय शिवहरि पौडेल र किरण केसी, गायकहरू रामचन्द्र काफ्ले, धन गुरुङ र भाष्करध्वज श्रेष्ठ, गायिका निशा सुनुवार, नृत्यांगना सबनम गुरुङ सौगातको आकर्षण हुनेछ । अनाथ बालबालिकाका लागि शिक्षा र खेलकुदमा सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रममा नेपालकी राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङलाई सम्मान पनि गरिनेछ ।
छुसक पर्वको अन्तिम दिन ‘चितवन धमाका’ हुनेछ, जसमा नायिका ऋचा घिमिरे, गायक निमा रुम्बा, हास्य कलाकार जितु नेपाल, गायिका कोमल वली र गायक मिलन लामाको जोडी जम्दै छन् । आयोजक चितवन सम्पर्क समितिका अनुसार यो कार्यक्रमको मुनाफाले नेपालका अनाथ तथा अपांग बालबालिकाको शिक्षामा सहयोग गरिनेछ ।
तीनदिने बिदा भएकाले सियोलबाहिर थेगु, थेजन, कुमी, उल्सान, पुसान क्षेत्रमा कार्यरत नेपालीहरू पनि उपस्थित हुने आयोजकले दाबी गरेका छन् । सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको स्थलहरूमा मेट्रो ट्रेन र नगर बसहरूबाट सजिलै पुग्न सकिने भएकाले पनि नेपाली दसैं आउन केही महिना बाँकी छँदै कोरियाली नेपालीले रमाइलो रंगमा छुसक मनाउनेछन् ।