तानसेन-तम्घास सडकमा भएको यात्रुबस दुघर्टनामा ३ जनाको मृत्यु

पाल्पा – शुक्रवार दिउँसो  तानसेन-तम्घास सडकमा भएको यात्रुबस दुघर्टनामा ३ जनाको मृत्यु भएको छ ।  दुघर्टनामा ३५ बढी यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट पाल्पा हुँदै गुल्मीको तम्घास हिडेको यात्रुवाहक बस दुर्घटनामा, गुल्मी तम्घास-८ का मानवहादुर दर्जी, गुल्मीकै दिगाम- ३ की इन्द्रकला पोखरेल, बराङदी- ४ पाल्पाका २५ वर्षीय अमृत घर्तीको मृत्यु भएको छ ।

दर्जी र पोखरेलको तानसेन, टक्सारटोल नजिकै घटनास्थलमा र घर्तीको उपचार गर्न अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ख ४९५८ नम्वरको बस दुघर्टनाका घाइते ३५ मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते २५ जनाको  लुम्विनी मेडिकल कलेज प्रभास र बाँकीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । गोठादी ३ पाल्पाका ६५ वर्षीय तारा बहादुर ठाडाको अवस्था चिन्ताजनक रहेको छ । उनको लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

साँघुरो सडकमा अर्को सवारीलाई साईड दिनेक्रममा बाटो भासिएर दुघर्टना भएको हो । दुई पटक पल्टिएर ५० मिटर तल बारीमा पुगेको बस गड्न लागेको अवस्था जस्तै भएर अडिएको छ । स्थानीय बासिन्दा, प्रहरीले घाइते यात्रुको तत्कालै उद्धार गरेका थिए ।

तानसेन बसपार्कदेखि डेढ किलोमिटर टाढा भएको दुघर्टनाको खवर प्रहरीले भने एक घण्टासम्म दिन सकेको थिएन । दुर्घटनास्थलदेखि दुई मिनेट टाढा रहेको सरकारी अस्पतालमा भने एउटै विरामी उपचारको लागि लगिएन । आकस्मिक कक्षमा तीनजना भन्दा बढीको उपचार गर्न उपकरण नभएकाले पनि निजी अस्पतालमा लग्नु परेको हो ।

अन्य समाचारहरु