बाँकेको कोहलपुर बजारबाट पाँच बर्षीय बालकलाई अपहरण गर्ने एक युवतीलाई पक्राउ

– जे पाण्डे

 

नेपालगन्ज  – बाँकेको कोहलपुर बजारबाट पाँच बर्षीय बालक शुसान्त अधिकारीलाई अपहरण गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बागेश्वारी एकेडमीमा युकेजीमा अध्ययनरत बालक सुशान्तलाई अपहरण गर्ने नेपालगन्जकी पुनम सुनारलाई ५ महिना पछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए ।

अपहरण पछि फरार पुनमलाई आईतबार साँझ नेपालगन्जको सेतुबिक चोकबाट प्रहरीले पक्राउ गरेको हो । सुशान्तलाई पछिमेकी रामबरण गुप्ताको योजनामा, मोहम्मद हुसेन, बेतहनीका भगवानदिन बर्मा र नेपालगन्जकी पुनम सुनारले बैशाख महिनाको पहिलो साता अपहरण गरेका थिए । 

उनीहरुले बालकलाई अपहरण गरी भारत पुर्याएर ३० लाख रुपैया फिरौति नदिए मार्ने धम्की दिएका थिए । तत्कालीन प्रहरी नायव उपरीक्षक विनोद घिमिरेसहित तीन जनाको टोलीले नेपालगन्ज रुपइडिहा नाकावाट झण्डै ४० किलोमिटर दक्षिणस्थित भारतीय गाउँ ककरधरीबाट अपहरित बालकलाई ४ दिन पछि सकुसल उद्दार गरेको थियो ।

यस अघि प्रहरीले अपहरणमा संलग्न २२ बर्षीय रामबरण गुप्ता र मोहम्मद हुसेनलाई पक्राउ गरिसकेको छ । तर, बेतहनीका भगवानदिन बर्मा अझै फरार रहेको प्रहरीले जनाएको छ । 

अन्य समाचारहरु