– उमाकान्त पाण्डे गाउले
यूएई डेस्क -नेपाली एकता समाज यूएईले ने.क.पा.(मसाल)का केन्द्रीय सदस्य तथा श्रमजीवी सर्वहारा वर्गका नेता लिलानाथ कुसुमको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
यूएईमा कमरेड कुसुमको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली मन्तव्य राख्दै एकता समाज यूएईका अध्यक्ष मान बहादुर थापाले कुसुमको निधनले पार्टी र क्रान्तिलाई अपूरणीय क्षति पुगेको बताए।
श्रमजीवी सर्वहारा वर्गका लागि कमरेड कुसुमले दिएको योगदान अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष थापाले कमरेड कुसुमका अधुरा सपनाहरू पूरा गर्ने अभियानमा निरन्तर खट्न उपस्थित सबैमा आव्हान समेत गरे।
त्यसैगरी समाजका सस्थापक महासचिब कृष्ण भुसालले समाजमा मान्छे भएर जन्म लिएका धेरै भएको तर सार्थकरूपमा मान्छे भएर बाँचेका कम हुने भन्दै कसैको मृत्युले सारालाई भावविह्वल बनाएको भनाइ राखेका थिए।
कुशुमको भौतिक शरीर नभए पनि उनको विचारबाट सिक्नुपर्ने व्यावहारिक पाठ साक्षी रहेको बताउदै भुसालले कुशुमजीको बारेमा गुणगान गाएर र मौखिकरूपले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेर मात्र उहाँको सच्चा सम्मान र श्रद्धाञ्जली हुन नसक्ने कार्यक्रममा बोल्ने अधिकाशंले जोड दिएका थिए।
कार्यक्रममा यूएई नेपाली एकता समाजका उपाध्यक्ष शिवराज जैशी,समाजकै कृष्ण के.सी,केशब शर्मा,प्रकाश जी.सी.लिलाकंन्ता लामिछाने,रक्तिम परिवार यूएईका सचिब चिरन के.सी,महिला समाजकी सावित्री ए.सी तथा तुलसा थापा,लगायतले मन्तब्य राख्दै कुसुमको सपना पुरा गर्ने अठोट लिएका थिए।