अवैध गर्भपतन गराउँदा सुनसरीको इटहरीमा महिलाको मृत्यु

सुनसरीको इटहरीस्थित ओम साई मनोकामना आरोग्य केन्द्रका चिकित्सकले अवैधरुपमा गर्भपतन गराउने प्रयास गर्दा एक महिलाको मृत्यु भएको खुलेको छ। परिवारकै सल्लाहमा गर्भपतन गराउन आएकी खोटाङ, नेर्पा-७ की करिब ३३ वर्षीया सरला राईको केन्द्रका चिकित्सकले गर्भपतन गराउन खोज्दा शनिबार बिहान मृत्यु भएको हो। 
घटनालाई गुपचुप राख्‍न र कानुनी कारबाहीबाट जोगिन केन्द्र र पीडितका केही आफन्तपक्षबीच शनिबार राति इटहरीमा ६ लाख क्षतिपूर्ति दिने सहमति भएको समेत खुलेको छ। उनका अनुसार मृतकका पती भने आज आइतबार मात्रै खोटाङबाट आइपुग्ने छन्।
 
बीपी प्रहरी पोष्टले घटना इटहरीमा भएकाले त्यसबारे इलाका प्रहरी कार्यालय इटहरीमा खबर गरिसकेको जनाएको छ। इटहरी प्रहरीले भने घटनाबारे कुनै जानकारी नै नआएको जनाएको छ। घटनाबारे सुनेको भए पनि पीडित पक्षबाट उजुरी नआएकाले अनुसन्धान प्रक्रिया अघि बढाउन नसकेको इलाका प्रहरी कार्यालय इटहरी प्रहरी निरीक्षक देवी बरालले बताए। घटना कानुनी कारबाहीको दायरामा आउने भए पनि उजुरी बिना केही गर्न नसक्ने उनले बताए।
मृतकको शव शनिबारदेखि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा बेवारिसे अवस्थामा छ। अवैध गर्भपतनपछि अत्यधिक रक्तस्रावले अवस्था चिन्ताजनक हुँदै गएपछि आफन्तले उपचारको लागि शनिबार बिहान करिब ६ बजेतिर बीपी प्रतिष्ठान ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो। त्यसपछि मृतकलाई शवगृहमा राखेर गएका आफन्तहरु आइतबारसम्म सम्पर्कमा नआएको प्रतिष्ठानस्थित प्रहरी पोष्टले जनाएको छ।
बीपी प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार मृतकलाई तरहरा-२, शान्तिनगरस्थित बहिनी वसन्त राईले उपचार गराउन लिएर आएकी थिइन्। तिनै बहिनी वसन्तले इटहरीस्थित आरोग्य केन्द्रमा गर्भपतन गराउँदा दिदीको मृत्यु भएको खुलासा गरिदिएकी थिइन्। पतीसँग सल्लाह गरी गर्भपतन गराउन तरहरा आफन्तकोमा आएपछि उनीहरु केन्द्रमा सल्लाह लिन पुगेका थिए। त्यही भिडियो एक्सरेसमेत गरेपछि ८ हजार रुपैयाँमा त्यहीँका डाक्टरले आफ्नै कोठामा लगेर औषधि हालिदिएको भनि वसन्तले बयान दिएको प्रहरी पोष्टका हवल्दार श्याम परियारले बताए। प्रहरीका अनुसार यो घटना भदौ ३० गते साँझतिरको हो।
केन्द्रका व्यवस्थापक हीरा श्रेष्ठले भने सरलाको भिडियो एक्सरे केन्द्रमा गरेपनि गर्भपतन भने नगरेको दाबी गरे।

अन्य समाचारहरु