राजधानीमा २६ वर्षपछि सर्वाधिक वर्षा

– श्याम भट्ट

 

काठमाडौं – मनसुन भित्र्याउने प्रमुख स्रोत बंगालको खाडीमा एक साता अघि शुरू मनसुनी प्रक्रियाका कारण रूझ्न थालेको काठमाडौं पूर्वको आधा मुलुकले मंगलबारबाट केही राहत पाउने भएको छ। एक साता अघिसम्म नेपाल भारत सीमामा रहेको यो प्रक्रिया आइतबार नेपाल भित्रै प्रवेष गरेपछि सोमबार दिनभरि उपत्यका सहित पूर्वी नेपालमा लगातार वर्षा भएको हो।

 

मौसम पुर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद शिव नेपालका अनुसार यो प्रक्रिया कमजोर हूँदै गएकाले मंगलबारदेखि पूर्वको तुलनामा उपत्यकाको मौसममा दिउँसोबाट सुधार हुनेछ। जलवायु विज्ञान विज्ञान विभागका उपमहानिर्देशक मणिरत्न शाक्यका अनुसार मौसममा सुधार भएपनि मनसुनी असर भने नेपालमा अझैं एक साता रहने छ। ‘विस्तारै मुलुकको सुदूर पश्चिम हुँदै पूर्वसम्म घाम लाग्ने र पानी पर्ने हुँदै मनसुनको विदाइ हुनेछ’, उनले भने।

आइतबार साँझदेखि सोमबार साँझसम्म काठमाडौंमा ८९ दसमलब ९ मिलिमीटर पानी परेको छ काठमाडौंमा यो मनसुन मात्र नभइ २६ वर्ष पछि सेप्टेम्बरमा रेकर्ड भएको सर्वाधिक वर्षा हो। यसअघि सन १९८५ सेप्टेम्बर १७ मा ६९ मिलिमीटर वर्षा भएको थियो। उपत्यका बाहिर सर्वाधिक वर्षा ओखलढुंगामा ९७ दसमलब ० मिलिमीटर रेर्कड भएको छ। सोमबार सम्मको वर्षाले महिनाभरीको औसत वर्षाको दर १८९ दसमलव ९ लाइ उछिनेर २ सय २ दसमलब ७ मिलिमीटर पुगेको छ।
खाडीमा पानी पार्न आवश्यक मानिने जलवाष्प युक्त हावाको जमघटका कारण (न्युन चापिय क्षेत्र) मध्यमाञ्चल र पुर्वी नेपालमा वर्षा गराउँदा दशैंको मुखमा जनजीवन प्रभावित भएको थियो। असोजको दोस्रो साता पुग्दा समेत स्थानीयले असारे मौसमको छनक पाइरहेका थिए।

सामान्यतया जुन १० मा भित्रिएर सेप्टेम्बर २३ ताका फर्किन्छ , तर फर्कीने बेला मुख्य स्रोतमै मनसुनी प्रक्रिया शुरू भएपछि यो एक साता देखि १० दिन सम्म आफ्नो असर देखाउने गरी लम्बीन पुगेको हो।

अन्य समाचारहरु