दसैं २०६८: काठमाडौमा करिब रु एक करोड मूल्य बराबरको विष्फोटक पदार्थ बरामद

काठमाडौ । महानगरीय प्रहरी अपराध महाशाखाले आज सीतापाइलाबाट  करिब रु एक करोड मूल्य बराबरको विष्फोटक पदार्थ बरामद गरेको छ ।


महाशाखाबाट प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले अग्नि यातायातको ग्यारेजमा झापा काँकडभिट्टाबाट बा १ क ६४९१ नम्बरको ट्रकमा धानको भुसभित्र लुकाई ल्याएको अवस्थामा ती विष्फोटक पदार्थ बरामद गरेको हो ।


महाशाखाको कार्यलयमा आज पत्रकार सम्मेलन गरी प्रहरीले ३८ थान ठूलो प्याक पटाका सहित ट्रक चालक नुवाकोट मदानपुरका मोहन अधिकारीलाई पक्राउ गरिएको जनाइएको छ ।


प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार सो पटाका इलाम घर भई हाल स्थानीय गोंगबु बस्ने युवराज चापागाईंले भारतबाट अन्दाजी रु एक करोडमा खरिद गरी ल्याएको अनुसन्धानका क्रममा खुलेको छ ।


पक्राउ परेका अधिकारीलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा थप अनुसन्धानका लागि लगिएको बताइएको छ ।

अन्य समाचारहरु