तुलसीपुर, दाङ – सल्यानको श्रीनगरमा व्यापार गर्दै आएका कृष्ण खड्की र उनकी श्रीमती धनसरी खड्कीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
राप्ती अञ्चल प्रहरी प्रमुख घनानन्द भट्टका अनुसार बिहीबार दिउँसो कामको सिलसिलामा कालीमाटी रामपुरतर्फ गइरहेका बेला कालीमाटी सुकीदह नजिकैको भिरबाट खसेर दुर्घटना भई दुवैको घटनास्थलमै मृत्यु भएको हो । कृष्ण खड्की सल्यान उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत थिए ।
यता दाङको शीतलपुरको कचिला चौकमा यात्रुबाहक ट्याक्सीको ठक्करबाट तीनजना घाइते भएका छन् ।
उरहरीको कचिलाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१प ८४३९ नम्बरको मोटरसाइकललाई तुलसीपुरदेखि शीतलपुरतर्फ जाँदै गरेको लु.१ज १०८२ नम्बरको यात्रुबाहक ट्याक्सीले कचिला चौकमा ठक्कर दिँदा कचिला निवासी ओमप्रकाश गिरी, उनकी छोरी र भिनाजु मित्रलाल गिरी घाइते भएको प्रहरी चौकी जसपुरले जानकारी दिएको छ ।
खुट्टा र टाउकामा चोट लागेका घाइते तीनै जनालाई अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको अस्पतालले जनाएको छ । रासस



