
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको प्रत्येक दुइ बर्षमा हुने विश्व सम्मेलन तथा महाअधिवेशन आगामी अक्टोबर १२ देखि १४ मा काठमाण्डौमा सम्पन्न हुदैछ । यस आगामी पांचौ महाधिवेशनबाट नयाँ कार्यकारिणी समिति पनि चयन गरिने हुँदा मेरो महासचिव पदमा उम्मेदवारी रहने व्यहोरा देश बिदेशमा रहनु हुने सम्पूर्ण गैरआवासीय नेपाली मित्रहरुमा जानकारी गराउन चाहन्छु । २००३ देखि आजसम्मको ८ बर्षमा गैरआवासीय नेपाली संघले गर्नु पर्ने धेरै कामहरु भइरहेका छन् । केहि अधुरा र अन्य धेरै कार्यहरु यस सँस्थाले गर्न सक्ने अवस्थालाई मध्यनजर गरि त्यस्ता कार्यहरुलाई पूर्णता दिन र नयाँ सोंच सङ्कल्प लिई संस्थागत विकाश र आगामी कार्यक्रमहरुको कार्यन्वयनमा जोड दिन मैले आफु महासचिब पदमा रहनु पर्ने आवश्यकता ठानेको हुँ ।
एनआरएनका चुनौतीहरुलाई सामना गरि अगाडी बढ्नलाई यौटा सशक्त समूहको नेतृत्व अपरिहार्य हुन्छ । संस्थालाई कुशलता पूर्वक चलाउनलाई पदिय दायित्व लिएका व्यक्तिहरुको विविध सिप तथा अनुभवको भुमिका रहन्छ नै त्यस्तै संस्थाका सम्पूर्ण साथीहरुको सहयोग र सहकार्य अवश्यक पर्दछ । मेरो गत ६ वर्षमा रहेको दुबई यूएईमा बटुलेको अनुभवले उपरोक्त पदमा रहि समग्र संस्थाको हितको लागि काम गर्न सहयोग गर्ने छ भन्ने मेरो विश्वास हो । २००६ देखि आवद्द भइ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको महासचिव पदमा रहेर काम गर्दा गत दुई वर्षको कार्यकालमा संस्थामा रहेका चुनौतिहरुलाई नजिकबाट बुझ्न पाएकोले पनि यस पदका जिम्मेवारीहरु प्रति म सजग छु। सँस्था प्रति अविश्वास गर्ने मित्रहरुलाई पनि संस्थागत बिकासमा लाग्न प्रेरित गर्न पाँउदा र संयुक्त अरब इमिरेटस् पंजीकृत गैरआवासीय नेपालीहरुको उल्लेख्य वृद्दी भएकोमा कुनै न कुनै रुपमा आफूलाइ गर्व पनि महसुस भएको छ । त्यस्तै गरेर विगतमा गरिएका विभिन्न भेला र सम्मेलनले पारित गरेका घोषणा र सम्पन्न हुन बाँकी विषयहरुलाई पनि यो कार्यान्वयनको समय हो ।
नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रमा आधारित यो संस्था स्थापना गरि यसको विश्वब्यापी अभियान चलाउने पूर्व अग्रजहरुको गरेको योगदानको सदैब उच्च मुल्यांकन र कदर गर्दै उहाँहरु द्वारा स्थापित यस संस्थाको गरिमालाई कहिल्यै कमि हुन दिने छैन भनि प्रण गर्दै सम्पूर्ण गैरआवासीय मित्रहरु समक्ष हजुरहरुको सहयोग हुनेछ भन्ने कुरामा म पूर्ण आशावादी छु ।
विजयादशमी तथा शुभदिपावलीको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।



