एनआरएनमा चुनावी सरगर्मी बढ्यो, वर्तमान अध्यक्ष हिराचन द्वारा अर्को कार्यकालका लागि उम्मेद्ववारीको घोषणा गर्दै

– उमाकान्त पाण्डे गाउंले – यूएई डेस्क


विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको सञ्जाल गैरआवासीय नेपाली संघको राजधानीमा हुन गइरहेको विश्व सम्मेलनमा चुनावी सरगर्मी बढेको छ।


सम्मेलन यही १२ अक्टोबरबाट १४ सम्म राजधानीको होटल सोल्टीमा हुने कार्यक्रम छ । सम्मेलनले नयाँ नेतृत्व चयनसमेत गर्ने भएकाले यतिबेला उम्मेदवारी घोषणा र आफ्नो पक्षमा मत बटुल्न उम्मेदवारहरु लागिपरेका छन् । यता नेपाल उद्योग वाणिज्य महासंघमा रहेको सचिवालयमा प्रतिनिधिहरुको नाम दर्ता प्रक्रिया जोडतोडका साथ चलिरहेको छ ।


संघको नेतृत्व लिन संघका उपाध्यक्ष जीवा लामिछानेले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । यता वर्तमान अध्यक्ष देवमान हिराचनले समेत आफ्नो उम्मेदवारी घोषणा गरेको ईमेल अर्घाखाँची डट्कम् लाई प्राप्त भएको छ।यधपी उहाले राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।


यस्तै उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष रामेश्वर शाह र हितमान गुरुङले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । उता यूएई बाटै उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी हुने घोषणा हिजो मात्र यहाँ कार्यरत नेपाली ब्यबसायी सिपी सापकोटाले घोषणा गरेका छन । उनले एक दुई दिन भित्रै प्रकृया गत ढंग बाट आफ्नो उम्मेदवारीको घोषणा गरी मिडियामा आउने प्रतिकृया अर्घाखाँची डट्कम् लाई दिएका छन ।


त्यस्तै महासचिवमा वर्तमान कार्यसमितिमा प्रवक्ता रहनु भएका डा. कुमार बस्नेत र विष्णुमाया परियारले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ यता यूएई बाट एनआरएन एनसीसी यूएईका निवर्तमान महासचिव अर्घाखाँचीका सिद्दराका युवा सुरेश बस्याल ले उम्मेदवारी घोषणा गरेका छन।सचिवमा हालसम्म युवराज गुरुङ र टीबी कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोषाध्यक्षमा भने जापानबाटै दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । यसरी उम्मेदवारी घोषणा गर्नेमा भवन भट्ट र नम्रता पाण्डे छन् । यसपटक जापानबाट मात्रै चार जनाले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ५६ बढी मुलुकमा शाखा रहेको संघमा जापानबाट मात्रै अध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पदमा उम्मेदवारी घोषणा भएको हो ।


संघको पाँचौ विश्व सम्मेलनमा विभिन्न मुलुकबाट हजार बढीको सहभागिता रहने एनआरएन स्रोतले जनाएको छ । एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्मा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक, एसिया, युरोप, मध्यपूर्व, उत्तर दक्षिण अमेरिका र आशियान क्षेत्रबाट गरी ५ जना क्षेत्रीय संयोजक र ५ जना उपसंयोजक निर्वाचित हुने व्यवस्था विधानमा छ । एनआरएनको सन् २००३ मा काठमाडौंमा भएको पहिलो विश्व सम्मेलन भएको थियो ।