यूएई डेस्क – गैरआवासीय नेपाली (एनआरएन) संघको पाँचौं विश्व सम्मेलन नजिकिँदै जाँदा चुनावी सरगर्मी सुरु भएको छ । संघको बुधबार सुरु हुने सम्मेलनका क्रममा हुने नयाँ नेतृत्वको निर्वाचनका लागि संघका अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले औपचारिक रूपमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
लामिछानेले करिब २ साताअघि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए भने हिराचनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो प्रतिबद्धता सार्वजनिक गरे ।
आफ्नो कार्यकालमा सुरु भएका अधुरो कामलाई पूरा गर्नका साथै नयाँ कामको सुरुवात गर्न उम्मेदवारी दिन लागेको हिराचनले बताएका छन् । गैरआवासीयले विदेशमै बसेर मतदान गर्न पाउने संयन्त्र निर्माण गर्ने उनको प्रतिबद्धता छ ।
दुई हजार पाँच सयभन्दा बढी नेपाली भएका ठाउँमा आवासीय दूतावास खोल्न पहल गर्ने, विदेशमा कठोर सजाय भोगिरहेका नेपालीको जीवनरक्षाको पहल गर्ने, गैरआवासीय नेपालीको लगानी सुरक्षित बनाउन कानुनी व्यवस्थाको पहल गर्ने उनले जनाएका छन् । ‘स्वदेश तथा विदेशमा एनआरएनको लगानी सुरक्षित तुल्याउन आवश्यक कानुनी प्रावधानको व्यवस्था गर्ने र जस्तोसुकै पहलकदमी लिनेछु,’ उनले भने ।
हिराचनले वैदेशिक रोजगारीमा जाने नेपालीले तिरेको दस्तुरबाट संकलन भएको रकमबाट विदेशमा गैरआवासीय नेपालीको सुरक्षामा खर्च गर्ने बताएका छन् । जलविद्युत् आयोजनामा गैरआवासीय नेपालीको सामूहिक लगानी हुने वातावरण बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । संघले सञ्चालन गरिरहेका लोककल्याणकारी कार्यलाई निरन्तरता दिँदै खुला विश्वविद्यालय र पब्लिक लाइब्रेरीको काम अघि बढाउने उनले बताएका छन् ।
करिब ९ वर्षअघि संसारभर छरिएर रहेका नेपालीहरूलाई समेटेर मुलुकको विकासमा सहभागी बनाउन स्थापना भएको संघमा हालसम्म सर्वसम्मत्तिबाट अध्यक्ष चयन हुँदै आएको छ । सुरुमा ३ कार्यकाल उपेन्द्र महतो अध्यक्ष रहे भने दुई वर्षअघि हिराचन सर्वसम्मत्तिबाटै अध्यक्ष बनेका हुन् । संघमा हरेक दुई वर्षमा नयाँ नेतृत्व चयन हुने प्रावधान छ ।
यसपटक दुवैले सार्वजनिक घोषणा गरिसके पनि सहमतिको प्रयास पनि जारी छ । ‘अहिले पनि सर्वसम्मतिको सम्भावना कायमै छ,’ लामिछानेले भने । हिराचनले पनि लामिछानेसँग संवाद भइरहेको जनाउँदै सर्वसम्मतिलाई इन्कार गर्न नसकिने बताएका छन् ।
एनआरएन अभियानअन्तर्गत अहिले संसारका ५७ देशमा एनआरएन राष्ट्रिय समन्वय परिषद् गठन भइसकेको छ । ‘हामीले हालसम्म संगठन विस्तारमा बढी ध्यान दियौं र नेपालले पनि हामीलाई बुझ्न थालेको छ,’ लामिछानेले भने, ‘अब नयाँ नेतृत्वले संगठनलाई अर्को चरणमा लगेर नेपालमा योगदान दिनेतर्फ बढी केन्द्रित हुनुपर्नेछ ।’
उनले नेपालमा लगानीको वातावरण नभएको भन्दै एनआरएन पछि नहट्ने बताए । ‘देशमा समस्या रहेको बेला नै हामीले लगानी गरेर अन्य विदेशीहरूलाई पनि विश्वास दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘सहज अवस्थामा त सबैले गरिहाल्छन् नि ।’
विशेषगरी दुबई क्षेत्रीय सम्मेलनबाट अगाडि आएको सामूहिक लगानीको अवधारणालाई लामिछानेले प्रमुखताका साथ अगाडि बढाउने बताएका छन् । ‘सामूहिक लगानीका लागि धेरै ठाउँबाट इच्छा जाहेर गर्ने व्यक्तिहरू धेरै भेटिएका छन्,’ उनले भने, ‘यसमा म विशेष ध्यान दिनेछु ।’
लामिछानेले आफ्नो चुनावी एजेन्डामा मध्यपूर्व र मलेसियामा रोजगारीमा रहेका नेपालीहरूको काम र जीउधनको सुरक्षालाई प्राथमिकता साथ उठाएका छन् । ‘हाम्रा नेपाली दिदीबहिनीहरूका लागि पनि यो क्षेत्र सुरक्षित र मर्यादित तुल्याउन विशेष रूपले कार्य गर्नेछु,’ उनले भने, ‘वैदेशिक रोजगारीपछि नेपाल फर्केकाहरूको स्रोत-साधन र सीप- ज्ञानको परिचालन गर्न उचित वातावरण बनाउन सम्बन्धित निकायमा पहल गर्नेछु ।’
लामिछानेले नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीको नागरिकता बदर नहुने प्रावधान राख्ने हरसम्भव पहल गर्ने प्रतिबद्धता जनाएका छन् । ‘एकपटकको नेपाली सधैंको नेपाली भन्ने संघको मूल नाराप्रति म पूर्ण प्रतिबद्ध छु,’ उनले भने । यस विषयलाई हिराचनले पनि आफ्नो चुनावी एजेन्डामा प्रमुखताका साथ समेटेका छन् । ‘ऐनमा संशोधन गरी नागरिकता कायम रहने व्यवस्था र अब बन्ने नयाँ संविधानमार्फत नै एकपटकको नेपाली सधैंका लागि नेपाली हुने निश्चितताका लागि पहल गर्नेछु,’ उनले भने ।
३ दिनसम्म चल्ने सम्मेलनमा करिब ७ सय एनआरएन सहभागी हुने अनुमान गरिएको छ ।
घोषणा पत्र एवम हाल सम्म भएका कार्यहरु: