गैरआवासीय नेपालीको पाँचौं सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं – प्रधानमन्त्री बाबुराम भट्टराईले पाँचौं गैर आवासीय नेपालीहरुको पाँचौं विश्व सम्मेलनको राजधानीमा बुधबार उद्‌घाटन गरेका छन् । हरेक दुई बर्षमा गैर आवासीय नेपाली संघ (एनआरएन)ले उक्त सम्मेलनको आयोजना गर्दै आएको छ ।

प्रधानमन्त्री भट्टराईले उद्‌घाटनका क्रममा नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि निर्धक्क भएर लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्‌वान गरेका छन् ।

‘बाह्यरुपमा राजनीतिक सङ्क्रमण र अस्थिरताजस्तो देखिए पनि आन्तरिकरुपमा त्यस्तो अवस्था छैन, तपाईंहरु लगानी गर्न तयार हुनुहोस्, सरकारले उपयुक्त वातावरण तयार गरिदिन्छ’ उनले भने ।

प्रधानमन्त्री डा भट्टराईले अगामी वर्षलाई लगानी वर्षका रुपमा मनाउन लागेकाले विश्वमा छरिएर रहेका नेपालीलाई आफ्ना ज्ञान, सीप र अनुभवलाई नेपालमा लगाउन आग्रहसमेत गरे ।

नेपालको प्रतिव्यक्ति आय ४०० डलरबाट तीन हजार डलर पुर्याउन सरकारले विशेष आर्थिक नीतिको प्याकेज ल्याउन लागेको जानकारी दिँदै प्रधानमन्त्री भट्टराईले भने, ‘लगानीका क्षेत्रमा नेपालको बजार सानो छैन ।’

शान्ति प्रक्रिया र नयाँ संविधान लेखन कार्य अन्तिम अवस्थामा पुगेको जानकारी दिँदै उनले केही समयभित्रै यी दुई महत्वपूर्ण कामको परिणाम देखिने पनि दावी गरे ।

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन र नयाँ संविधान लेखनका लागि दलहरुबीच उच्चस्तरको सकारात्मक छलफल भइरहेको उल्लेख गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपालीका ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक एवम् सामाजिक विकासमा लगानी गर्न सरकारले उचित वातावरण तयार गर्ने बताए ।

उनले गैरआवासीय नेपालीको परिचयपत्र वितरण कार्य सुरु गरिएको, सङ्घको विधिवत् मान्यताको कार्य अगाडि बढिरहेको र लगानी भित्र्याउन थप उचित वातावरण तयार गर्न लागिएको जानकारी पनि दिए ।

सङ्घका अध्यक्ष देवमान हिराचनले आगामी संविधानमा गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिइनुपर्ने प्रावधान राख्न माग गरेका थिए ।

सङ्घका पूर्वअध्यक्ष डा उपेन्द्र महतो र गैरआवासीय नेपाली दर्शन रौनियारले नेपालमा उचित लगानीको वातावरण तयार गर्न माग गरेका थिए ।

तीनदिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ५६ देशका गैरआवासीय नेपालीहरुबीच नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लगानीको सम्भावनाका क्षेत्रका बारेमा छलफल हुनेछ । सम्मेलनले दुई वर्षका लागि सङ्घको नयाँ नेतृत्वको पनि चयन गर्नेछ ।