
जलविद्युत, पर्यटन, पूर्वाधार विकास र कृषिमा लगानी भित्र्याउने प्रतिबद्धता सहित गैरआवासिय नेपाली संघ (एनआरएनए) को पाँचौ विश्व सम्मेलन सकिएको छ । सम्मेलनले सय मेगावाटसम्मको मध्यस्तरीय जलविद्युत आयोजना गैरआवासिय नेपालीको लगानीमा संचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
१७ बुँदे काठामाडौं घोषणापत्र जारी गर्दै संघले नेपालीको चाहना अनुसारको संविधान निर्माण र शान्ति प्रकृयालाई सकारात्मक निष्कर्षमा पुर्याउन सबै दलहरुलाई आग्रह गरेको छ । सम्मेलनले संघको दुई वर्षे कार्यकालका लागि जीवा लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । संघको यस पटकको निर्वाचन विवाद रहित भने हुन सकेन् ।
सम्मेलन समापनमा संघका निवर्तमान अध्यक्ष देवमान हिराचनले आफ्ना कार्यकालमा घोषित अधुरा कामलाई सफलता प्रदान गर्न गम्भीरतापूर्वक लाग्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष जीवा लामिछानेले संघमा चुनौती थपिएको बताउँदै अधुरा काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थायीत्व प्राप्त गर्र्न संघ दर्तालाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डाक्टर उपेन्द्र महतोले सहमतीको आधारमा मुलुकलाई समयमा नै संविधान दिन दलहरुलाई आग्रह गर्नुभयो ।
संघले वैदेशीक लगानीलाई सुरक्षित, मर्यादित र व्यवस्थीत गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने जनाएको छ । सम्मेलनले छैटौं विश्व सम्मेलन सन् २०१३ को अक्टोबरमा राजधानीमा गर्ने निर्णय गरेको छ ।