विशेष समितिले पुनवर्गीकरणको कार्यतालिका तयार पार्ने

काठमाडौं, १८ कात्तिक माओवादी लडाकुको पुनवर्गीकरणको कार्यतालिका तयार पार्न माओवादी लडाकुको रेखदेख, पुनर्स्थापना र समायोजनसम्बन्धी विशेष समितिको बैठक आज बस्दैछ । बैठक साँझ ५ बजे समितिको सचिवालय नयाँ बानेश्वरमा बस्ने छ । 
 
यसअघि प्रमुख दलहरुबीच शान्ति प्रक्रियाका विषयमा सातबुँदे सहमति भएपछि बुधबार बसेको समितिको बैठकले आजसम्ममा समायोजनसम्बन्धी कार्यतालिका तयार पार्न समितिलाई निर्देशन दिएको थियो । तर, हिजो र आज शिविरमा परिचालन हुने जनशक्ति छनोट गर्नुपर्ने भएकाले कार्यतालिका तयार भइनसकेको समितिका सदस्य दीपकप्रकाश भट्टले जानकारी दिए । उनका अनुसार यही कात्तिक २५ गतेदेखि लडाकु पुनवर्गीकरणको प्रक्रिया सुरु हुनेछ । कात्तिक १५ गते भएको दलहरुको सहमतिमा मंसिर ७ गतेसम्ममा लडाकु पुनवर्गीकरणको काम गरिसक्ने उल्लेख छ ।