पाल्पाका संचारकर्मीको भीरवाट लडेर मृत्यु

– माधब अर्याल
पाल्पा, कार्तिक १९ – संचारकर्मी लक्ष्मण घिमिरेको भीरबाट लडेर शनिवार मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ, पाल्पा शाखाका सदस्य ३५ बर्षीय उनको आफ्नै घर नायरनमतलेस गाविसको सिंचासमा लडेर मृत्यु भएको हो ।
शुक्रवार बेलुका तानसेनबाट हिडेका उनी घर नपुगेपछि खोजी गर्दा सडकबाट ५० मिटर तल भीरमा अड्किएको अवस्थामा शनिवार विहान शव भेटिएको परिवारले जनाएका छन् । प्रहरीका अनुसार घिमिरे शुक्रवार बेलुका नै दुर्घटनामा परेका हुन् । उनको शनिवारै पोष्टमार्टम गरी राम्दीघाटमा दाहसंस्कार गरिएको छ । घिमिरे पाल्पाबाट प्रकाशित पाल्पा टाईम्स साप्ताहिकमा कार्यरत थिए । नेपाल प्रेस युनियन पाल्पाका उपसभापति रहेका घिमिरे एक दशकदेखि पत्रकारितामा आवद्ध थिए ।
त्रिभुवन वहुमुखी क्याम्पस, तानसेन बहुमुखी क्याम्पस, मोहन कन्या उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएका थिए । निधनले पत्रकार महासंघ पाल्पा, प्रेस युनियन लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । घिमिरेको श्रीमती र एक छोरी छन् ।

अन्य समाचारहरु