ईदको अवसरमा यूएईमा खुला भलिवल प्रतियोगिता

– उमाकान्त पाण्डे “गाउंले”


नोभेम्बर ९,आबुधाबी –  खाडीमुलुक अन्तर्गत सम्युत्त अरब एमिरेट्स यूएईमा मुस्लिम समुदायको दोस्रो ठुलो पर्व बकर इदको अवसरमा यहाँ स्थित बिभिन्न स्थानमा बिभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएका छन।


बकर इदको अवसरमा पर्ने ४ दिने सार्वजनिक बिदाको सदुपयोग गर्दै यूएईका दुई स्थानमा भलिवल प्रतियोगिता भए। भिन्नभिन्न संघसस्थाले आयोजना गरेका प्रतियोगितामा उत्साहजनक सहभागिता देखिन्थ्यो ।


नेपाली मगर संघ यूएईको वार्षिक कार्यक्रम अन्तर्गत प्रथम सहीद लखन थापामगर स्मृति कप भलिबल प्रतियोगीता यूएईको दुबइमा सम्पन्न भयो । मगरहरुको मिनाम ल्हेस (नयाँ बर्ष) र मुस्लिमहरुको दोश्रो महान चाड बकर ईदको अवसर पारेर संघको दुबई क्षेत्र समितिको आयोजनामा दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा भएको प्रतियोगितामा २२ टिम ले सहभागीता जनाए।


नोभेम्बर ६ र ७ तारिख (दुई दिन)सम्म चलेको प्रतियोगितामा तमु समाज यूएईले उपाधी कब्जा गर्‍यो भने डलुक्सो तथा बाग्लुङ ढोरपाटन समुहले क्रमश: दोस्रो र तेस्रो स्थानमा चित्त बुझाए।


प्रतियोगितामा उत्कृष्ट खेल प्रदशन गरेको भन्दै तमु समाजका खेलाडी शोलेन्द्र गुरुङलाई उत्कृष्ट खेलाडी घोषणा गरियो।


कार्यक्रम नेपाली आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष गिरमान थापाको प्रमुख आतिथ्यता, नेपाली समाजका कार्यबाहक अध्यक्ष भरत राज रानामगरको बिशेष आतिथ्यता तथा अन्य संघसस्थाका प्रतिनिधिको उपस्थितीमा सम्पन्न भयो।

आबुधाबीमा नेपाली जनसंपर्क समिती यूएई प्रथम


यसै बिच यूएईको आबुधाबीमा पनि यूएई ब्यापी खुला भलिवल प्रतियोगिता सम्पन्न भएको छ। ब्यबासयिक सस्था भएपनि बिभिन्न अवसरमा सामाजिक सद्भभाब र भाईचाराको बिकासका लागि सामाजिक कार्य गर्दै आएको काठमाण्डौ रेस्टुरेन्ट द्वारा आइकार्ड सिटीमा आयोजना गरेको प्रतियोगितामा नेपाली जनसंपर्क समिती यूएईको टिमले उपाधी कब्जा गर्‍यो।

 

जम्मा १० समुहको सहभागीतामा सम्पन्न प्रतियोगितामा आयोजक समुहले दोस्रो स्थानमै चित्त बुझायो ।

प्रतियोगितामा उपाधी कब्जा गर्ने समुहलाई नगद १ हजार यूएई धिराम्श (करीब २० हजार)तथा दोस्रो स्थान प्राप्त गर्ने समुहलाई नगद ५ सय यूएई धिराम्श (करीव १० हजार नेपाली रुपैया) एक कार्यक्रमका बिच रेस्टुरेन्टका संचालक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरे।


नेपाली समाज यूएई आबुधाबी क्षेत्रिय समितीका अध्यक्ष सुर्य गिरीको प्रमुख आतिथ्यता, संघसस्थाका प्रतिनिधिको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा आबुधाबी औधोगिक क्षेत्रमा कार्यरत १ हजार भन्दा बढी नेपाली दर्शकको उपस्थिती रहेको थियो।


प्रतियोगिता मुस्लिम समुदायको दोस्रो ठुलो पर्व बकर इदको अवसर पारेर आयोजना गरिएको हो।