काठमाडौं – सरकारले अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख दिने घोषणापछि अन्तर्जातीय विवाह गर्नेहरुको सङ्ख्या १९८ पगेको गृह मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०६७/२०६८ दलित र गैरदलितबीच हुने अन्तर्जातीय विवाहलाई प्रोत्साहनस्वरुप रु एक लाख दिन सुरु गरिएको हो ।
हालसम्म काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा ३४ वटा अन्तर्जातीय विवाह दर्ता भएको र ती सबै जोडीले प्रोत्साहन रकम पाइसकेको लेखा अधिकृत एकराज उप्रेतीले जानकारी दिए ।
सभासद् तथा दलित अधिकारकर्मी विनोद पहाडीले अन्तर्जातीय विवाह गर्ने जोडीले आफ्नो ज्यानसमेत गुमानुपर्ने, समुदाय र परिवारबाटै अपहेलित हुनुपर्ने हुँदा अन्तर्जातीय विवाहसम्बन्धी राज्यले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए । रासस



