काठमाडौ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रु. तीनलाख एघार हजार जाली नोट सहित दुई जनालाई आइतवार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अछाम जिल्ला सन्तडा गाविस वडा नम्वर ८ का ३३ वर्षीय विनोदकुमार शाह र प्युठान ओखरकोट गाविस वडा नम्वर ८ का शिवशक्ति पोखरेल रहेका छन् । प्रहरीले अभियुक्तबाट बरामद गरिएको तीनलाख एघारहजार नक्कली भारुमा रु एक हजार र रु पाँच सयका रहेका छन् ।
सिआइबीका अनुसार उनीहरुलाई करिव एक महिना अघिदेखि निगरानीमा राखिएको थियो । पक्राउ परेका शाह यस अघि २०६६ फागुन १३ गते भारतीय नक्कली नोटसहित पक्राउ परी खोटाचलन मुद्दामा कारवाही भई धरौटीमा छुटेको जानकारी दिइएको छ ।
शाहलाई पोखरेलले नक्कली नोट उपलव्ध गराउने गरेको व्युरोको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाइएको जनाइएको छ ।



