काठमाडौं । सरकारले बर्डफ्लु भेटिएको भक्तपुरको मनहार क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । भक्तपुरको मनोहरा खोलास्थित सुकुम्वासी क्षेत्रका पंक्षीमा बर्डफ्लु भेटिएको थियो । सरकारले सो क्षेत्रमा बर्डफ्लु नियन्त्रणकोलागी बिशेष पहल गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले मनोहर खोला क्षेत्रमा देखिएको बर्ड फ्लु रोगलाई नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुरमा देखिएको बर्ड फ्लु रोगका कारण दुई दर्जन निजी विद्यालय बन्द भएका छन् । त्यसै गरेर रोग नियन्त्रण र उपचारका लागि सरकारले पहल नगरेको भन्दै बिरोध भएपछि सरकारले यस्तो निर्णय गरेको हो । सरकारले त्यस क्षेत्रलाई चिन्ह लगाएर रोगको रोकथाम गर्ने छ ।
त्यसै गरेर सरकारले कैलाली जिल्लाका बादी समुदायलाई आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । उनीहरुको जीविकोपार्जनका लागि सहयोग मिल्ने गरेर सहयोग गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यसैगरी नेपाली सेनाका तीन जना जर्नेलको बढुवा पनि सरकारले गरेको छ ।