प्रवासी नेपाली युवा संघ यूएइले पहिलो बर्ष गाठं मनायो

– उत्तम अधिकारी, आबुधाबी 
एक बर्ष अगाडी यूएइको आबुधाबीमा गठीत प्रवासी नेपाली युवा संघ यूएइले एक कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । प्रवासी नेपाली संघ यूएइका केन्द्रिय सदस्य छत्रबहादुर लामाका हजुरबुवा कमानिसंह लामाको दुखद निधन प्रति समबेदना प्रकट गर्दै मौनधारणाबाट कार्यक्रमको शुरुवात गरिएको थियो।
 
कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउँदै संघका सचिव राजु भुजेलले राष्ट्रलाई हतियारधारी जत्थाको आवश्यकता नभइ अनुशासित युवाहरुको खाँचो भएको र बन्दुकको नालले होइन बरु सैद्दान्तिक र सांस्कृतिक धारले उग्रबामपन्थि र दक्षिणपन्थि सोचलाई चिर्दै देशलाई सम्वृद्दिको बाटो तर्फ उन्मुख गराउने जिम्मेवारी नेकपा एमालेका युवाहरुको काँधमा आइपरेको र सो भूमिका युवा संघ नेपालले निर्वाह गरिरहेको बताउँदै युवा संघ नेपालको हरेक सोच र कदमप्रति प्रवासी नेपाली युवा संघको दृढ समर्थन रहने बताए । 
संघकै अध्यक्ष महेश गिरीको सभापतित्व तथा प्रवासी नेपाली संघ यूएइका अध्यक्ष यमलाल शर्मा पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघका केन्द्रिय तथा क्षेत्रिय सदस्य,कार्यकर्ता तथा प्रवासी नपाली युवा संघकै केन्द्रिय तथा क्षेत्रिय समितिका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । 
कार्यक्रममा अतिथिको रुपमा प्रवासी नेपाली संघका केन्द्रिय सदस्य छत्र बहादुर लामालाई गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको केन्द्रिय सदस्य तथा संघकै उपाध्यक्ष तथा प्रशिक्षण बिभाग प्रमुख लोकनाथ सुबेदीलाई गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिकै मध्यपुर्व उप संयोजक पदमा निर्वाचित भएकोमा कार्यक्रमका सभापति र प्रमुख अतिथिले संयुक्त रुपमा खादा ओढाइ सम्मान गर्नुका साथै सफल कार्यकालको लागी बधाइ तथा शुभकामना दिएका थिए ।
 
 
कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका उपाध्यक्ष कृष्ण बुढाथोकीले प्रवासी नेपाली युवा संघले यूएइमा शुरुवात देखि नै खेलकुद साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको तथा यस यूएइ प्रवासमा नेपालीहरुलाई ठगी तथा दलाली गर्ने गिरोह विरुद्ध शसक्त रुपमा युवा संघ यूएइ उत्रिएको र यो अभियान यस्ता गलत कदम नरोकिए सम्म जारी रहने कुरा बताइरहँदा उपस्थित सम्पुर्ण कार्यकर्ताले ताली बर्षाउँदै उनलाई साथ दिएका थिए । कार्यक्रमका अतिथिहरु प्रवासी नेपाली संघका केन्द्रिय सदस्य तथा अनुशासन विभाग प्रमुख राजु गुरुङ, केन्द्रिय सदस्य गोबिन्द प्रसाद खनाल तथा दक्षिणि समन्वय समितिका सदस्य सूर्य गिरीले आ-आफ्ने तर्फबाट युवा संघ यूएइको लागी शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
 
 
यसैबीचमा कार्यक्रम संचालक राजु भुजेलले युवा संघ यूएइको स्थापना कालदेखि हालसम्म आइपुग्दा सकृय सहयोग पुर्‍याउँदै आएका प्रवासी नेपाली संघ यूएइ आबुधाबी क्षेत्रिय समितिका सचिव उत्तम अधिकारी लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रमका सभापति तथा प्रमुख अतिथिको हातबाट उत्तम अधिकारीलाई निरन्तर सहयोग गरे बापत सम्मान पत्र प्रदान गरिएको थियो । प्रवासी नेपाली संघ यूएइका महासचिव बुद्दि प्रसाद सुबेदीले संघको गत बर्षको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्षको तर्फबाट आर्थिक प्रतिबेदन पेश गर्दै रहरलाग्दो भरलाग्दो र डरलाग्दो युवाहरुको संगठनलाई साँच्चै रहरलाग्दो तबरले यस यूएइ प्रवासमा अघि बढाउन पाउँदा निकै खुशी लागेको बताउनुका साथै नेपाली राजनितिले सधैभरी युवाहरुलाई आन्दोलनमा मात्र प्रयोग गरेकाले देशको बिकाश हुन नसकेकाले अब समस्त युवाहरुलाई राष्ट्र निर्माणमा संलग्न गराइनु पर्नेमा जोड दिएका थिए ।
 
 
उक्त कार्यक्रममा कलाकार निस्चल श्री खुशिरामले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस भन्ने देश प्रेमी गीत प्रस्तुत गरेका थिए भने अर्का कलाकार दिनेश कुमार माझीले नेपाली लोक लयमा मीठो बासुरीको धुन पस्केका थिए । कार्यक्रमको दोश्रो चरणमा प्रवासी नेपाली संघका उपाध्यक्ष तथा प्रशिक्षण बिभाग प्रमुख लोकनाथ सुबेदीले प्रशिक्षण कार्यक्रम संचालन गरेका थिए । उक्त प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि तथा प्रवासी नेपाली संघ यूएइका अध्यक्ष यमलाल शर्मा पंगेनीले जहाँ जहाँ कर्मठ नेपाली युवा छन् त्यहाँ त्यहाँ स्वतन्त्रता र न्याय छ भन्ने कुरा युवा संघले स्थापित गरेको छ भन्दै नेपाली जनताको स्वतन्त्रता र मुक्तिको लागी अझ धेरै काम गर्न बाँकी रहेको र यो काम नेकपा एमालेद्दारा मात्र सम्भब भएको कुरा औंल्याएका थिए । उनले कम्युनिष्ट पार्टी भनेको सधैं भरी समानताको खोजीमा लाग्ने पार्टी हो र नेपाली जनतालाई राहत दिन सक्ने नेपालको एक मात्र कम्युनिष्ट पार्टी नेकपा एमाले हो भन्ने कुरा आजसम्मको इतिहासले पुष्टि गरिसकेको बताए । प्रशिक्षणकै क्रममा प्रवासी नेपाली संघका महासचिव डेर राज गुरुङले युवा संघ यूएइलाई बधाइ तथा शुभकामना दिँदै नेपालमा बिगत देखि हालसम्म भएका हरेक क्रान्ति र ठुला ठुला राजनैतिक परिबर्तनमा युवा पुस्ताकै देन सबै भन्दा महत्वपुर्ण रहिआएको कुरा दर्शाएका थिए ।
 
 
जहाँ जहाँ जतिबेला अन्याय अत्याचार बढ्छ अनि शोषक, सामन्त र दलाल सक्रिय हुन्छन् त्यहाँ त्यहाँ पिडित नेपालीलाई न्याय र मुक्ति दिलाउनको लागी युवा शक्ति जन्मन्छ र यूएइमा पनि सोहि कारणले गर्दा प्रवासी नेपाली युवा संघको आवस्यकता महशुस गरी यो जुझारु संगठन जन्मिएको कुरा उनले उल्लेख गर्दै यस प्रवासमा युवा संघको उपस्थिति संगै त्यस्ता तस्करहरु झस्केको समेत बताए । उनले युवाहरुको एकतामा मात्रै सामाजिक मुल्य र मान्यता कायम रहने कुरा औंल्याउँदै युवाहरुलाई एक ढिक्का भएर अघि बढ्न निर्देशन दिए ।
 
 
प्रवासी नेपाली संघका केन्द्रिय सदस्य छत्र बहादुर लामाले नेकपा एमाले शान्तिपुर्ण तबरले आफ्ना सिद्दान्त जनता माझ पुर्‍याएर जनतालाई बास्तबिक राहत दिन क्रियाशिल रहँदै अएको तथा उग्रबामपन्थि अतिबाद र दक्षिणपन्थि यथास्थितिबादले देशलाई बन्धक बनाइरहेको बर्तमान अबस्थामा यी दुबै बादलाई समझदारीमा ल्याएर देशलाई यो संक्रमणकालीन अबस्थाबाट सफल अबतरण गराउने अभिभारा नेकपा एमालेले पुरा गर्दै आइरहेको तथ्य सबै सामु छर्लंगै रहेको कुरा बताए । देश अनि जनताको आशा र ज्योती नेकपा एमाले मात्र भएकाले नेकपा एमालेलाई मलजल गर्न युवा शक्ति नै अघि बढ्नु पर्ने कुरामा जोड दिँदै प्रवासी नेपाली संघका उपाध्यक्ष तथा प्रशिक्षण बिभाग प्रमुख लोकनाथ सुबेदीले सभासद बालकृष्ण ढुंगेल काण्ड तथा बेपत्ता लडाकुको नाममा देशको ढुकुटीको चरम दुरुपयोग गरी बबुराम भट्टराइ नेतृत्वको सरकारले कानूनी राज्यको अबधारणलाई खिल्लि उडाएको बताए ।
 
 
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा प्रवासी नेपाली युवा संघ यूएइका अध्यक्ष महेश गिरीले नेपाल सरकारको युवा स्वरोजगारी कोषको रकममा माओबादीले मच्चाएको ब्रम्ह लुट तथा युवा संघ नेपालले यस दुरुपयोगको बिरुद्दमा खेलेको भूमिका तथा सरकार र गृह प्रशासनका कमजोरीका कारण भएको चितवन कारागारको घटनालाई सरकारले राजनैतिक रंग दिई आफ्नो कमजोरी छिपाउन खोजेको बारेमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । 
कार्यक्रमको अन्त्यमा प्रवासी नेपाली युवा संघ यूएइको प्रथम अबिधेसन २०१० बाट केन्द्रिय कमिटिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतद्दारा हस्ताक्षरित प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रवासी नेपाली युवा संघ यूएइको औपचारिक स्थापनाको घोषणा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एक बर्ष अघी गरेका हुन। संघले देशमा राजनैतीक तथा सामाजिक कार्यलाई अघी बढाएको छ भने प्रवास कमिटी अन्तर्गत पहिलो पटक यूएईमा स्थापित युवा संघ यूएईले सोही कार्यमा हातेमैलो गर्दै आएको छ । 
संघको प्रशिक्षण तथा बिशेष भेला समेत राखिएकोले कार्यक्रममा संघमा आबद्द बाहेक अन्यको उपस्थिती रहेन।