लोडसेडिङ बढेकै दिन ऊर्जामन्त्री बोगटी चढेको गाडीलाई बसले ठक्कर दियो

कस्तो संयोग! विद्युत प्राधिकरणले हिजो ( बुधवार)देखि लोडसेडिङको अवधि बढाएर दिनको औसत १० घण्टा पुर्‍याएकै दिन ऊर्जामन्त्री पोस्टबहादुर बोगटी चढेको गाडीलाई एउटा भाडाको बसले ठक्कर दिएको छ।


ट्राफिक प्रहरीका अनुसार बिहान साढे ७ बजे तिनकुनेको सडकमा बानेश्वरबाट एयरपोर्टतर्फ गइरहेको बा १ ख ९३५२ नं. को मध्य उपत्यका यातायातको बसले ऊर्जामन्त्री बोगटी चढेको बा१झ ७१९६ नं. को गाडीलाई ठक्कर दिएको हो।


ठक्करबाट मन्त्री र गाडी चालकलाई केही नभए पनि सरकारी गाडीको पछाडिको भाग क्षति भएको ट्राफिकले जनाएको छ। दुवै सवारी साधन अहिले ट्राफिक प्रहरी महाशाखाको नियन्त्रणमा रहेको छ।

 


धन्न गाडीमा सरकार मै रहेका माओवादी मन्त्री थिए। काँग्रेस वा एमालेका कोही नेता परेका भए शान्ति सुरक्षा कमजोर भएको बहानामा अर्को एउटा बन्द भोग्नु पर्ने हुन्थ्यो कि हामीले?


विद्युत् प्राधिकरणले लागू गरेको नयाँ तालिका अनुसार हप्ताको ४ दिन ११ घण्टा, एक दिन १० घण्टा, एक दिन ९ घण्टा र एक दिन छ घण्टा लोडसेडिङ हुन्छ।


राति बत्ती नजाने एक दिन मात्र हुन्छ, त्यो दिन भने दिउँसो भरी बत्ती जान्छ। हप्ताका अरु छ दिनै बिहान र राति गरी बत्ती जान्छ। अर्थात् सुत्दा पनि बत्ती हुँदैन, उठ्दा पनि बत्ती हुँदैन।

अन्य समाचारहरु