नेपाल पत्रकार महासंघ, दक्षिण कोरियाको चौथो कार्यकालका लागि खेम कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।
राजधानी सोलबाट ४ सय २० किमी टाढा रहेको किम्हे शहरमा आइतबार सम्पन्न तेश्रो अधिवेशनबाट उपाध्यक्षमा देवेन्द्र सम्बाहाम्फे, सचिवमा अशोक मैनाली, सहसचिवमा वीरेन्द्र सुनुवार, कोषाध्यक्षमा पुष्पराज लामिछाने र सदस्यहरुमा दिपक कट्टेल, सीपी खनाल, तेजप्रसाद बिमली सर्वसम्मतबाट चुनिएका छन् ।
सो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोरियाका नेपाली राजदूत कमलप्रसाल कोइरालाले पत्रकार मारिने क्रम रोकिनु पर्ने बताउँदै पत्रकारितालाई कसैले मार्न नसक्ने बताए ।
राजदूत कोइरालाले बिगतमा आफूले पत्रकारिता गर्दा अनेक खालका मुद्दाहरु खेप्नु परेको स्मरण गर्दै प्रेस स्वतन्त्रता र नागरिक अभिव्यक्तिको पक्षमा लागिरहन उपस्थित पत्रकारहरुलाई अनुरोध पनि गरे ।
अधिवेशनका बिशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले देशमा शान्ति प्रकृया र संविधान लेखन कार्य अन्तिम टुङगोमा पुगे पनि त्यसपछि हुने निर्वाचनबाट बढारिने डरले राजनीतिक दलहरु खतरनाक खेल खेलिरहेको बताए । उनले नेताहरुको राजनीतिक बेइमानीलाई पत्रकारहरुले नर्भिक रुपमा सम्प्रेषण गर्नुपर्ने पनि बताए ।
अर्का अतिथि महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले प्रवासमा श्रम गरेर बचेको समयमा पत्रकारिता गर्नु आफैमा चुनौतीपूर्ण कार्य भएको बताउँदै कोरियामा रहेको नेपाली समाजको विविध गतिविधि लाई निष्पक्ष सम्प्रेषण गर्न यहाँ कार्यरत पत्रकारहरुलाई सुझाव दिएका थिए ।
महासंघकै अर्का केन्द्रीय सदस्य मातृका पौडेलले कोरियामा रहेको नेपाली समाजको गहिरो अध्ययन गर्न जरुरी रहेको औल्याउदै भारत र खाडी राष्ट्रमा मात्र होइन कोरियामा पनि अप्रत्यक्ष रुपमा नेपाली चेलीहरु बेचिन शुरु भएको बताउँदै चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा इन्जे विश्वविध्यालयका प्रा. पार्क जे सक, ख्यङनाम माइग्रेन्ट सेल्टरका संचालक ली छल सुङले नेपाल कोरियाविचको सम्बन्धबमरे चर्चा गरेका थिए ।
शाखाका अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा भएको सो अधिवेशनमा कोरियामा कार्यरत बिभिन्न संस्थाका प्रतिनिधिहरुले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको योगदानबारे चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
चौथो कार्यकालको लागि चुनिएको नयाँ कार्य समितिलाई अध्यक्ष गाउँलेले प्रशिक्षण दिएर पदको सपथ पनि दिलाएका थिए ।



