कपिलवस्तुमा अदालतको फैसला सुनेपछि एक कैदीको अकस्मात् मृत्यु

कपिलवस्तु – कपिलवस्तु जिल्ला अदालतको फैसला सुनेपछि एक कैदीको अकस्मात् मृत्यु भएको छ । रूपन्देही सिद्धार्थनगर-६ बस्ने देवनारायण थारुको अदालतको फैसला सुनेपछि कपिलवस्तु कारागारभित्रै मृत्यु भएको हो ।

मानव बेचविखन तथा ओसारपसारको आरोपमा मुद्दा चलाइएका उनको ह्रदयघातबाट मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । चेलीबेटी बेचविखनको आरोपमा गत साउन १ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राखेको थियो ।

गत बिहीबार अदालतले उनको मुद्दाको फैसला सुनाएपछि उनको शुक्रबार राति मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । उनलाई गत बिहीबार अदालतले २० वर्ष कैद तथा रु दुई लाख जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्ययाधीश रामकृष्ण खनालको एकल इजलासले गरेको उक्त फैसलाको बारेमा उनीलाई शुक्रबार मात्र जानकारी गराइएको कारागारका चौकीदार ऋषि श्रेष्ठले जानकारी दिए ।

अन्य समाचारहरु