अमेरिका – सन् २०१० मा अमेरिकामा भएको जनगणनाअनुसार नेपालबाट आएका नेपालीको संख्या ५९ हजार ४ सय ९० छ । यहाँको जनसंख्या विभागले हालै उक्त तथ्यांक जारी गरेको हो ।
गत डिसेम्बरसम्म अमेरिकामा पुनर्स्थापित भूटानी शरणार्थीको संख्या ४९ हजार १२ पुगेको छ । यस हिसाबले जनगणना २०१० का नेपाली ५९ हजार ४ सय ९० र हालसम्म अमेरिकामा पुनर्स्थापित भुटानी शरणार्थीको संख्या मिलाउँदा नेपाली-भाषीहरू १ लाख ८ हजार ५ सय २ जना पुगेको देखिन्छ ।
अमेरिकामा जनगणना सन् २०१० अप्रिलमा भएको थियो । उक्त जनगणनाअनुसार अमेरिकाको जनसंख्या ३०८,७४५, ५३८ अर्थात् ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ पुगेको देखिन्छ ।
अमेरिका विश्वको तेस्रो घना आवादि भएको मुलुक हो । अमेरिकाभन्दा चीन र भारतमा धेरै मानिस बस्छन् । आकारमा नेपालभन्दा अमेरिका ६७ गुणा ठूलो छ भने जनसंख्या साढे दश गुणा मात्र बढी छ ।
अमेरिकामा १०/१० वर्षमा जनगणना गरिन्छ । यसअघि सन् २००० मा जनगणना भएको थियो । सन् २००० मा यहाँको जनसंख्या २८१, ४२१, ९०६ अर्थात् २८ करोड १४ लाख २१ हजार ९ सय ६ थियो । त्यसपछि ९ दशमलव ७ प्रतिशत बढेर ३० करोड ८७ लाख ४५ हजार ५ सय ३८ पुगेको हो ।
एशियाबाट आएका १ करोड ७९ लाख ४१ हजार २ सय ८६ मध्ये सबभन्दा बढी चीनियाँ छन् भने दोस्रोमा फिलिपिनी मूलका भएका छन् । भारतीय तेस्रो स्थानमा छ ।
अहिले अमेरिकामा करिब ३७ लाखभन्दा बढी चीनियाँ, ३४ लाखभन्दा बढी फिलिपिनी र ३१ लाखभन्दा बढी भारतीय छन् । कान्तिपुर



